नितु खत्री,रेडियो उदयपुर, । महिला सशक्तीकरण स्रोत केन्द्र (WERC) उदयपुरको आयोजनामा सञ्चालन भएको चार दिने सामुदायिक पत्रकारिता सम्बन्धी तालिम सम्पन्न भएको छ।
असार ३२ गतेदेखि साउन ३ गतेसम्म सञ्चालन गरिएको तालिममा पत्रकारितामा रुचि भएका तथा सामुदायिक सञ्चार माध्यममा आबद्ध हुन इच्छुक १५ जना युवा महिलाहरू सहभागी भएका थिए।
समुदाय स्तरका युवा महिलाहरूलाई सामुदायिक पत्रकारिताको आधारभूत ज्ञान र व्यावहारिक सीप प्रदान गरी तथ्यमा आधारित, जिम्मेवार र नैतिक पत्रकारितामार्फत स्थानीय मुद्दा तथा समुदायको आवाज उठाउन सक्षम महिला पत्रकार उत्पादन गर्ने उद्देश्यले तालिमको आयोजना गरिएको महिला सशक्तीकरण स्रोत केन्द्र, उदयपुरका कार्यक्रम संयोजक सुजाता सुबेदीले जानकारी दिनुभयो।
तालिमको प्रशिक्षण सामुदायिक सुचना नेटवर्क सिआईएनका सुसिला श्रेष्ठ र पत्रकार माहासघ उदयपुका सल्लाकार तथा कान्तिपुर टेलिभिजनका सम्पाददाता भोटराज राईले गर्नू भएको थियो । तालिममा उदयपुरको त्रियुगा नगरपालिका भरिका जम्मा १५ जना युवा महिलाहरुको सहभागि रहेको थियो ।
तालिममा सामुदायिक पत्रकारिताको अवधारणा, समाचारका आधारभूत सिद्धान्त, समाचारका स्रोत,समाचार सङ्कलन, लेखन तथा तथ्य प्रमाणीकरण, अन्तर्वार्ता लिने विधि, फोटो, रेडियो तथा डिजिटल पत्रकारिता, पत्रकारिताको आचारसंहिता र जिम्मेवार सञ्चारसम्बन्धी विषयमा सैद्धान्तिक तथा व्यावहारिक प्रशिक्षण प्रदान गरिएको थियो। साथै, सहभागीहरूलाई फिल्डमा पठाई समाचार सङ्कलन, अन्तर्वार्ता र समाचार लेखनको व्यावहारिक अभ्याससमेत गराइएको थियो।
तालिम सम्पन्न भएपछि सहभागीहरूले समाचारका स्रोत पहिचान गर्ने, स्थानीय मुद्दामा आधारित समाचार तयार गर्ने, अन्तर्वार्ता लिने, तथ्य प्रमाणीकरण गर्ने तथा डिजिटल प्लेटफर्ममार्फत सामग्री उत्पादन र प्रकाशन गर्ने व्यावहारिक सिप हासिल गरेको बताएका छन्। तालिम उदयपुरको त्रियुगा नगरपालिका ९ राजाबास स्थित ओरेक आधारमा सम्पन्न भएको हो ।




