उदयपुर, असार ११ – स्वास्थ्य कार्यालय उदयपुरले सञ्चारकर्मीहरूका लागि विभिन्न सरुवा तथा किटजन्य रोग नियन्त्रणसम्बन्धी अभिमुखीकरण कार्यक्रम सञ्चालन गरेको छ। रोग नियन्त्रण तथा जनचेतना अभिवृद्धिमा सञ्चारमाध्यमको प्रभावकारी भूमिका सुनिश्चित गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको हो।
स्वास्थ्य कार्यालयमा आयोजित कार्यक्रममा औलो, कालाजार, डेंगु, स्क्रब टाइफस, चिकनगुनिया लगायत इमर्जिङ तथा किटजन्य रोगहरूको वर्तमान अवस्था, संक्रमणको जोखिम, रोकथाम तथा नियन्त्रणका उपायबारे विस्तृत जानकारी प्रदान गरिएको थियो। स्वास्थ्यकर्मीहरूले पछिल्लो समय जलवायु परिवर्तन, बढ्दो तापक्रम तथा वर्षायामका कारण यस्ता रोगहरूको जोखिम बढ्दै गएको उल्लेख गरेका थिए।
कार्यक्रममा बोल्दै स्वास्थ्य तालिम केन्द्र, कोशी प्रदेश धनकुटाका निर्देशक गजेन्द्र प्रसाद यादवले वर्षायामसँगै डेंगु तथा अन्य किटजन्य रोगको संक्रमण फैलिने सम्भावना उच्च रहने भएकाले समुदायस्तरसम्म सही, तथ्यपरक र समयमै सूचना प्रवाह गर्न सञ्चारमाध्यमको भूमिका अत्यन्त महत्वपूर्ण रहेको बताउनु भयो । उहाले रोगको पहिचान, प्रमुख लक्षण, समयमै उपचार तथा बच्ने उपायबारे जनचेतना अभिवृद्धि गर्न सञ्चारकर्मीहरूले सक्रिय र जिम्मेवार भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिनु भयो । साथै, किटजन्य रोग नियन्त्रणका लागि स्वास्थ्य संस्था, स्थानीय तह र सञ्चारमाध्यमबीच प्रभावकारी समन्वय र सहकार्य आवश्यक रहेको उल्लेख गर्नु भयो ।
सहभागी सञ्चारकर्मीहरूले पनि रोग नियन्त्रण तथा जनस्वास्थ्य प्रवद्र्धनका अभियानमा सञ्चारमाध्यमले जिम्मेवार भूमिका निर्वाह गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए। उनीहरूले स्वास्थ्यसम्बन्धी सूचना प्रवाहलाई थप प्रभावकारी बनाउन स्थानीय तह, स्वास्थ्य संस्था र सञ्चारमाध्यमबीच निरन्तर समन्वय र सहकार्य आवश्यक रहेको धारणा राखे।
स्वास्थ्य कार्यालय उदयपुरको आयोजनामा सम्पन्न उक्त कार्यक्रमले सञ्चारकर्मीहरूको ज्ञान तथा क्षमता अभिवृद्धि गर्नाका साथै किटजन्य तथा सरुवा रोग नियन्त्रणसम्बन्धी जनचेतना फैलाउने कार्यलाई थप प्रभावकारी बनाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ। वर्षायाममा विशेष सतर्कता अपनाउन र घर तथा आसपासको वातावरण सफा राखी लामखुट्टेको प्रजननस्थल नष्ट गर्न समेत कार्यक्रममा आग्रह गरिएको थियो।





