दिगो विकासको लक्ष्यसहित कृषि, पर्यटन र पूर्वाधारमा केन्द्रित उदयपुरगढीको बजेट

0
6

उदयपुर, असार ११ – उदयपुरगढी गाउँपालिकाको १७ औँ गाउँसभा अधिवेशन बुधबार सम्पन्न भएको छ। अधिवेशनले आगामी आर्थिक वर्ष २०८३÷८४ का लागि सामाजिक सुरक्षा भत्ता बाहेक ६४ करोड ७७ लाख १९ हजार रुपैयाँ बराबरको बजेट सर्वसम्मत रूपमा पारित गरेको गाउँपालिकाले जनाएको छ।
गाउँपालिकाका अनुसार आगामी आर्थिक वर्षको बजेट तथा कार्यक्रम दिगो विकासका लक्ष्य प्राप्ति, स्थानीय स्रोत–साधनको अधिकतम उपयोग तथा नागरिकको जीवनस्तर सुधारलाई केन्द्रमा राखेर तयार गरिएको छ। बजेटमा शिक्षा, स्वास्थ्य, पर्यटन तथा पूर्वाधार विकासका क्षेत्रलाई उच्च प्राथमिकता दिइएको छ। साथै कृषि क्षेत्रको आधुनिकीकरण, उत्पादनमुखी कृषि प्रवद्र्धन, रोजगारी सिर्जना तथा स्थानीय आर्थिक गतिविधि विस्तार गर्ने लक्ष्यसमेत लिइएको छ।
गाउँपालिकाले समावेशी, दिगो तथा गुणस्तरीय विकासलाई प्राथमिकतामा राख्दै सडक, खानेपानी, सिंचाइ, शिक्षा र स्वास्थ्य पूर्वाधारको विस्तार तथा स्तरोन्नतिका कार्यक्रम सञ्चालन गर्ने जनाएको छ। यसका साथै महिला, बालबालिका, युवा, ज्येष्ठ नागरिक तथा विपन्न समुदायको सशक्तीकरणका कार्यक्रमलाई पनि बजेटमा समेटिएको बताइएको छ।
गाउँपालिकाका प्रवक्ता सहेकबहादुर विश्वकर्मीद्वारा जारी प्रेस विज्ञप्तिमा गाउँसभाबाट बजेट तथा कार्यक्रम अनुमोदन भएसँगै आगामी आर्थिक वर्षका विकास निर्माण तथा सेवा प्रवाहसम्बन्धी योजनाहरू कार्यान्वयनको बाटो खुलेको उल्लेख गरिएको छ। विज्ञप्तिमा स्थानीय आवश्यकताका आधारमा विकास कार्यक्रम सञ्चालन गरी आर्थिक तथा सामाजिक रूपान्तरणमा टेवा पु¥याउने प्रतिबद्धता व्यक्त गरिएको छ।
गाउँपालिका अध्यक्ष मानबहादुर केप्छाकी मगरको सभाध्यक्षतामा सम्पन्न अधिवेशनमा उपाध्यक्ष जितबहादुर खड्का, कार्यपालिका सदस्यहरू, गाउँसभा सदस्यहरू, प्रमुख प्रशासकीय अधिकृत भक्तबहादुर राई तथा गाउँपालिकाका कर्मचारीहरूको सहभागिता रहेको थियो। गाउँपालिकाले आगामी आर्थिक वर्षमा सुशासन, पारदर्शिता र उत्तरदायित्वलाई थप मजबुत बनाउँदै विकासका कार्यक्रम प्रभावकारी रूपमा कार्यान्वयन गर्ने प्रतिबद्धता समेत जनाएको छ। यस बजेटले शिक्षा, स्वास्थ्य, कृषि, पर्यटन र पूर्वाधार विकासमार्फत स्थानीय नागरिकको जीवनस्तर उकास्न महत्वपूर्ण योगदान पुग्ने अपेक्षा गरिएको छ।