उदयपुर,असार १० । उदयपुरको त्रियुगा नगरपालिकाले आगामी आर्थिक वर्ष २०८३÷०८४ का लागि १ अर्ब ३८ करोड ७७ लाख ७४ हजार रुपैयाँको बजेट सार्वजनिक गरेको छ। १७औँ नगरसभामा प्रस्तुत नीति, कार्यक्रम तथा बजेटले कृषि उत्पादन वृद्धि, महिला तथा युवा स्वरोजगार, शिक्षा, स्वास्थ्य, सामाजिक विकास, पूर्वाधार निर्माण, रोजगार सिर्जना, पर्यटन प्रवद्र्धन तथा सुशासनलाई प्राथमिकतामा राखेको छ।
प्रस्तावित बजेटअनुसार संघीय सरकारबाट वित्तीय समानीकरण अनुदानतर्फ २२ करोड १८ लाख रुपैयाँ, सशर्त अनुदान चालुतर्फ ६२ करोड ८ लाख रुपैयाँ, विशेष अनुदान १ करोड रुपैयाँ तथा समपूरक अनुदान ५५ लाख रुपैयाँ प्राप्त हुने अनुमान गरिएको छ। त्यसैगरी प्रदेश सरकारबाट वित्तीय समानीकरण अनुदान २ करोड ३ लाख ४५ हजार रुपैयाँ र सशर्त अनुदानतर्फ ५ करोड ४६ लाख २४ हजार रुपैयाँ प्राप्त हुने प्रक्षेपण गरिएको छ।
नगरपालिकाले आन्तरिक राजस्वबाट १५ करोड १० लाख ९६ हजार रुपैयाँ संकलन गर्ने लक्ष्य राखेको छ। यसबाहेक अन्तःशुल्कबाट ६ करोड ४७ लाख ६५ हजार रुपैयाँ, सवारी साधन करबाट १ करोड ८७ लाख ९९ हजार २३८ रुपैयाँ तथा आन्तरिक स्रोतबाट १६ करोड ५० लाख ६५ हजार रुपैयाँ जुटाइने उल्लेख गरिएको छ। नगरपालिकाको मौज्दात रकम ५ करोड ४९ लाख ८८ हजार ७६२ रुपैयाँ रहेको जनाइएको छ।
नगरपालिकाले युवाको सहभागिता र मूलप्रवाहीकरणलाई विशेष महत्व दिँदै उनीहरूलाई स्वदेशमै अवसर सिर्जना गरी उत्पादनशील क्षेत्रमा आबद्ध गराउने लक्ष्य लिएको जनाएको छ। यसका लागि डिजिटल सीप विकास, प्रविधिमा पहुँच विस्तार, उद्यमशीलता प्रवद्र्धन तथा रोजगारीमूलक विभिन्न युवा लक्षित कार्यक्रम सञ्चालन गरिने नीति तथा कार्यक्रममा उल्लेख छ।
त्यसैगरी शिक्षा र स्वास्थ्य सेवाको गुणस्तर सुधार, वातावरण संरक्षण, कृषि क्षेत्रको आधुनिकीकरण तथा भौतिक पूर्वाधार विकासलाई समेत प्राथमिकतामा राखिएको छ। नगरपालिकाले यी कार्यक्रममार्फत जनताको जीवनस्तर उकास्ने, रोजगारीका अवसर विस्तार गर्ने र दिगो विकासका लक्ष्य हासिल गर्ने अपेक्षा गरेको जनाएको छ।
नगरसभामा नगर प्रमुख बसन्तकुमार बस्नेतले आगामी आर्थिक वर्षका लागि नगर विकाससम्बन्धी नीति तथा कार्यक्रम प्रस्तुत गर्नुभएको थियो भने उपप्रमुख महेश्वरी राईले बजेट पेश गर्नुभएको थियो। सभामा विभिन्न विषयगत समिति तथा न्यायिक समितिका प्रगति प्रतिवेदनसमेत प्रस्तुत गरिएको थियो।
सो अवसरमा नगर प्रमुख बस्नेतले चार वर्षअघि निर्वाचित भएयता नगरपालिकाले हासिल गरेका उपलब्धिहरूको समीक्षा प्रस्तुत गर्दै भौतिक पूर्वाधार निर्माण, खानेपानी, कृषि तथा पशुपालन, रोजगार प्रवद्र्धन, राजस्व संकलन, न्यायिक सेवा, स्वास्थ्य, साहसिक खेलकुद तथा पर्यटन प्रवद्र्धनका क्षेत्रमा उल्लेखनीय प्रगति हासिल भएको बताउनुभयो।





