उदयपुर, असार ९ । नेपाल नेत्र ज्योति संघद्वारा सञ्चालित मदन भण्डारी आँखा अस्पताल उदयपुरको आयोजनामा जिल्ला कारागार उदयपुरमा रहेका कैदीबन्दीहरूलाई निःशुल्क चस्मा वितरण गरिएको छ। कारागारमा आयोजित कार्यक्रममा त्रियुगा नगरपालिकाकी उपप्रमुख महेश्वरी राई र मदन भण्डारी आँखा अस्पतालका अध्यक्ष भागवत राउतले संयुक्त रूपमा चस्मा वितरण गर्नुभएको हो। कारागार कार्यालयका सूचना अधिकारी महेश विष्टका अनुसार दृष्टि सम्बन्धी समस्या भएका कैदीबन्दीहरूको आँखा परीक्षणपछि आवश्यकताअनुसार चस्मा उपलब्ध गराइएको हो।
यस कार्यक्रमले कैदीबन्दीहरूको स्वास्थ्य सेवामा पहुँच विस्तार गर्नुका साथै उनीहरूको दैनिक जीवन सहज बनाउन सहयोग पुगेको विश्वास गरिएको छ। कार्यक्रममा कारागार प्रशासन, अस्पतालका प्रतिनिधि तथा अन्य सरोकारवालाहरूको सहभागिता रहेको थियो। संस्थाले समुदायका विभिन्न वर्गलाई लक्षित गरी यस्ता सामाजिक तथा स्वास्थ्यसम्बन्धी कार्यक्रमहरू निरन्तर सञ्चालन गर्ने जनाएको छ।





