उदयपुर, असार ६ । महिला सशक्तिकरण स्रोत केन्द्र, उदयपुरको आयोजना तथा कोशी प्रदेश सभा सचिवालय को सहयोगमा किशोरी नेतृत्व विकास तथा नीति संवाद कार्यक्रम विराटनगरमा सुरु भएको छ। उदयपुर, सुनसरी, मोरङ, झापा र धनकुटा जिल्लाका ५० किशोरीहरूको सहभागितामा कार्यक्रम सञ्चालन भइरहेको छ। किशोरीहरूको नेतृत्व क्षमता विकास गर्दै नीतिगत सवालहरूमा छलफल गर्ने उद्देश्यले आयोजना गरिएको यो कार्यक्रम असार ६ र ७ गतेसम्म सञ्चालन हुनेछ। महिला सशक्तिकरण स्रोत केन्द्र, उदयपुरका कार्यकारी निर्देशक बन्दना दनुवारले कार्यपत्र प्रस्तुत गर्दै किशोरीहरूका सवालहरूको विश्लेषण गर्दै समानता प्राप्तिका लागि एकीकृत अभियान अगाडि बढाउने सम्भावनाको खोजी तथा संरचनागत विभेदविरुद्ध आवाज उठाउन सक्षम नेतृत्व विकास गर्नु कार्यक्रमको मुख्य उद्देश्य रहेको बताउनुभयो। कार्यक्रमको पहिलो दिन किशोरीहरूले प्रदेश सभा तथा प्रदेश सरकारसमक्ष आफ्ना प्रश्न तथा जिज्ञासाहरू राखेका थिए। शिक्षा, स्वास्थ्य, अर्थपूर्ण सहभागिता र नेतृत्व, बालविवाह, दाइजो, लैंगिक हिंसा तथा न्यायसँग सम्बन्धितविषयहरूलाई उनीहरूले प्राथमिकताका साथ उठाएका थिए।
कार्यक्रमका प्रमुख अतिथि तथा कोशी प्रदेश सभाका सभामुख अम्बर बहादुर बिष्टले उठाइएका सवालहरूको सम्बोधन गर्दै समयको आवश्यकता र समाजमा देखिएका नयाँ चुनौतीअनुसार आवश्यक कानुन निर्माण तथा परिमार्जन गर्दै जाने प्रतिबद्धता व्यक्त गर्नुभयो। सभामुख बिष्टले समाजमा विद्यमान हानिकारक सामाजिक मूल्य–मान्यता, विभेद र रूढिवादी सोचका कारण किशोरीहरू बढी प्रभावित भइरहेको उल्लेख गर्दै “जसको सवाल, उसकै आवाज” भन्ने अवधारणाअनुसार किशोरीहरूले आफ्नो अधिकारका लागि स्वयं आवाज उठाउनुपर्ने धारणा राख्नुभयो। उहाँले किशोरीहरूको नेतृत्व विकास, अर्थपूर्ण सहभागिता र अधिकार सुनिश्चित गर्न कोशी प्रदेश सभा प्रतिबद्ध रहेको समेत बताउनुभयो।

कार्यक्रमका विशिष्ट अतिथि तथा कोशी प्रदेशका सामाजिक विकास मन्त्री राम प्रसाद महतोले कोशी प्रदेश सरकारले ‘सक्षम छोरी कार्यक्रम’ सञ्चालन गर्ने तयारी गरेको जानकारी दिनुभयो। उहाँका अनुसार यसको निर्देशिका तयार भइसकेको र १३७ वटै स्थानीय तहमा किशोरी सशक्तिकरण कार्यक्रम सञ्चालन गरिनेछ। त्यस्तै किशोर–किशोरी लक्षित ‘म अघि बढ्छु’ र ‘पढ्दै कमाउँदै’ कार्यक्रम पनि कार्यान्वयन गरिने उहाँले जानकारी दिनुभयो। साथै किशोरीहरूको मागपत्रमार्फत उठाइएका विषयहरूलाई क्रमशः सम्बोधन गर्दै जाने प्रतिबद्धता पनि व्यक्त गर्नुभयो।
कार्यक्रमको अध्यक्षता गर्नुभएका कोशी प्रदेश उपसभामुख सिर्जना दनुवारले अपाङ्गता लक्षित कार्यक्रमलाई निरन्तरता दिनुपर्ने उल्लेख गर्दै भौतिक विकाससँगै मानव विकास कार्यक्रमका लागि पनि बजेट विनियोजन र प्रभावकारीकार्यान्वयन आवश्यक रहेको धारणा व्यक्त गर्नुभयो। उहाँले ‘किशोरीसँग उपसभामुख’ कार्यक्रमलाई किशोरीहरूको सवाल सुनुवाइ तथा सम्बोधन गर्ने निरन्तर प्लेटफर्मका रूपमा अघि बढाइने प्रतिबद्धता जनाउनुभयो।
कार्यक्रममा महिला मानव अधिकारकर्मी मन्जिता उपाध्यायले कोशी प्रदेशमा महिला तथा किशोरीमाथि हुने हिंसाका तथ्यांकअनुसार सुरक्षा गृहबाट सेवा लिने प्रभावितमध्ये २० वर्षमुनिका किशोरीहरूको संख्या बढी रहेको उल्लेख गर्दै यसले किशोरीहरूको सुरक्षा र स्वतन्त्रतामाथि गम्भीर चुनौती थपिएको बताउदै सरकारलाई यस विषयमा ध्यान दिन आग्रह गर्नुभयो। त्यस्तै नेपाल पत्रकार महासंघ कोशी प्रदेशका अध्यक्ष भरत खड्काले सञ्चार माध्यम सधैं सामाजिक मुद्दालाई उजागर गर्न र न्याय तथा समानताको पक्षमा रहने बताउँदै किशोरीहरू नै भविष्यका नीति निर्माता भएकाले उनीहरूको क्षमता विकास, सशक्तिकरण र नेतृत्व अवसर विस्तार गर्न सरकारलाई आग्रह गर्नुभयो।
कार्यक्रमको पहिलो दिन नीतिगत संवादसँगै किशोरीहरूले भोगिरहेका चुनौती र सवालका विषयमा समूहगत छलफलसमेत गरिएको थियो। दोस्रो दिन आइतबार कोशी प्रदेश सभाको गतिविधिसम्बन्धी भिडियो प्रदर्शन, प्रदेश सभाको काम, कर्तव्य र अधिकारबारे छलफल, उपसभामुखसँग अनुभव आदान–प्रदान तथा डिजिटल सुरक्षा सम्बन्धी अभिमुखीकरण कार्यक्रम सञ्चालन गरिने आयोजकले जनाएको छ। कार्यक्रमको समापनमा किशोरीहरूले तयार गरेको मागपत्र (डिमान्ड लेटर) प्रदेश सभा मार्फत प्रदेश सरकारलाई बुझाइनेछ।









