उदयपुर,जेठ २७ । सरकारी सूचना तथा विज्ञापन वितरणमा रहेको विभेदकारी र स्वेच्छाचारी नीतिको विरोधमा उदयपुरका पत्रकारहरूले बुधबार जिल्ला प्रशासन कार्यालय अगाडि धर्ना दिएका छन्। नेपाल पत्रकार महासंघ उदयपुर शाखाको आह्वानमा आयोजित उक्त कार्यक्रममा पत्रकारहरूले नीतिगत सुधारको माग गरेका छन्। नेपाल पत्रकार महासंघको देशव्यापी आन्दोलन कार्यक्रम अन्तर्गत उदयपुरमा पनि पत्रकारहरूले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको संरक्षणका लागि दबाबमूलक प्रदर्शन गरेका हुन् । नेपाल पत्रकार महासंघ उदयपुर शाखाको अगुवाइमा जिल्ला प्रशासन कार्यालय उदयपुरको मूल गेटमा आयोजित धर्ना कार्यक्रममा जिल्लाका विभिन्न सञ्चारमाध्यममा आबद्ध पत्रकारहरूको सहभागिता रहेको थियो । सहभागीहरूले सरकारी निर्णय तत्काल फिर्ता लिन माग गर्दै प्रेस स्वतन्त्रताको पक्षमा ऐक्यबद्धता जनाएका थिए । पत्रकारहरूले हातमा प्लेकार्ड बोकेर सरकारको निर्णयप्रति असहमति जनाएका थिए । उनीहरूले ‘सूचना तथा विज्ञापनसम्बन्धी विभेदकारी र स्वेच्छाचारी निर्णय खारेज गर’, ‘जिम्मेवार पत्रकारिता हामी गर्छौं, प्रेस स्वतन्त्रताका लागि अघि बढ्छौं’, ‘नेपाल पत्रकार महासंघका माग तत्काल सम्बोधन गर’, ‘प्रेस स्वतन्त्रता जिन्दावाद’, ‘निर्वाध सूचना प्राप्तिको अधिकार सुनिश्चित गर’ तथा ‘प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतासम्बन्धी संवैधानिक हकको रक्षा गर’ लगायतका नाराहरु लेखिएको प्लेकार्ड बोकेर विरोध प्रदर्शन गरेका थिए । नेपाल पत्रकार महासंघले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतासम्बन्धी संवैधानिक हकको रक्षा तथा नागरिकको निर्वाध सूचना प्राप्तिको अधिकार सुनिश्चित गर्न माग गर्दै विभिन्न चरणका आन्दोलनका कार्यक्रम सञ्चालन गर्दै आएको छ । महासंघका अनुसार सरकारसँग पटक–पटक संवाद र आग्रह गरिए पनि मागप्रति आवश्यक पहल नभएकाले आन्दोलनलाई थप सशक्त बनाइएको हो ।





