उर्मिला दनुवार, १६ जेठ २०८३ । सामुदायिक रेडियो उदयपुरको १८औँ वार्षिकोत्सव तथा राष्ट्रिय महिला अधिकार दिवसको अवसरमा महिला सशक्तिकरण स्रोत केन्द्र उदयपुरको आयोजनामा किशोरी तथा महिलामाथि हुने हिंसा न्यूनीकरणका लागि डिजिटल सुरक्षा अभियान शुभारम्भ गरिएको छ । जिल्ला प्रहरी कार्यालय उदयपुरसँगको सहकार्यमा आयोजित कार्यक्रम शनिबार सम्पन्न भएको हो ।
रेडियो उदयपुर २०६६ साल जेठ १६ गते प्रथम गणतन्त्र दिवसको अवसर पारेर विधिवत रूपमा सञ्चालनमा आएको हो । महिला सशक्तिकरण स्रोत केन्द्र उदयपुरका कार्यकारी निर्देशक बन्दना दनुवारले रेडियो उदयपुरले समुदाय तहदेखि नै महिलाको अनुभवमा आधारित सूचना प्रवाह गर्दै सामाजिक रूपान्तरणमा निरन्तर काम गर्दै आइरहेको बताउनुभयो । आज शुभारम्भ गरिएको अभियान अन्तर्गत संस्थाले किशोर किशोरी लक्षित बिधालय कार्यक्रम, समुदाय छलफल, रेडियो समाग्री निर्माण तथा प्रशारण, डिजीटल सुरक्षा सम्बन्धी अनलाइन सामाग्रीहरु निर्माण तथा प्रचार, गीतसंगीत तथा कलाको माध्यमबाट सचेतना कार्यक्रमहरु अगाडी बढाइने जानकारी दिनुभयो । साथै सबै सरोकारवालालाइ अभियानमा जोडिन आव्ह्वान पनि गर्नुभयो ।
कार्यक्रममा कोशी प्रदेशकका उपसभामुख माननीय सिर्जना दनुवारले अभियान शुभारम्भ घोषणापत्र वाचन गर्दै डिजिटल सुरक्षा अभियानको औपचारिक शुभारम्भ गर्नुभएको थियो । उहाँले अहिले समाज तीव्र रूपमा डिजिटल प्रविधिमा प्रवेश गरिसकेको उल्लेख गर्दै डिजिटल प्लेटफर्मको प्रयोगले सूचना आदानप्रदान, शिक्षा र सञ्चारमा सहजता ल्याए पनि यससँगै परिवार र समाजमा विभिन्न जोखिम तथा चुनौती पनि बढ्दै गएको बताउनुभयो । उपसभामुख दनुवारले डिजिटल साक्षरता र साइबर सुरक्षाबारे समुदायस्तरमै जनचेतना अभिवृद्धि गर्नुपर्नेमा जोड दिँदै यस्ता अभियानले नागरिकलाई सचेत बनाउन महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गर्नुभयो । साथै, उहाँले अभियानलाई आफूले सक्दो सहयोग र साथ दिने प्रतिबद्धता पनि जनाउनुभयो ।

त्यसैगरी प्रमुख जिल्ला अधिकारी धर्मराज जोशीले विशेषगरी किशोरी, महिला तथा युवाहरू अनलाइन हिंसा, साइबर दुरुपयोग, फेक आइडी, गोपनीयता उल्लंघन, अनावश्यक ट्रोलिङ तथा डिजिटल ठगी जस्ता समस्याबाट बढी प्रभावित हुन सक्ने भएकाले डिजिटल सुरक्षाबारे अझ सचेत रहन आवश्यक रहेको उल्लेख गर्नुभयो । उहाँले सामाजिक सञ्जालको प्रयोगसँगै व्यक्तिगत जानकारीको सुरक्षा, बलियो पासवर्ड व्यवस्थापन, अनावश्यक लिंक तथा शंकास्पद सन्देशबाट सावधानी अपनाउने जस्ता आधारभूत डिजिटल अभ्यास अनिवार्य बन्दै गएको बताउनुभयो ।त्यस्तै जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रहरी उपरीक्षक राजन चापागाईँले कुनै पनि प्रकारको साइबर हिंसा वा दुव्र्यवहार भएमा तत्काल सम्बन्धित निकायमा उजुरी गर्नुपर्ने र मौन बस्न नहुनेमा जोड दिनुभयो । उहाँले “हामी आफैँ पनि सुरक्षित रहनुपर्छ र समाजलाई पनि सुरक्षित बनाउनुपर्छ,” भन्दै सुरक्षित डिजिटल अभ्यास आजको आवश्यकता मात्र नभई जिम्मेवारी पनि भएको उल्लेख गर्नुभयो ।

त्यसैगरी बेलका नगरपालिकाका उपमेयर जिरा राईले सूचना सम्प्रेषणको प्रमुख माध्यमका रूपमा डिजिटल प्लेटफर्म महत्वपूर्ण बनेको उल्लेख गर्दै यसको सहि तरिकाले प्रयोग गर्न आग्रह गर्नु भयो । उहाँका अनुसार अहिलेको डिजिटल युगमा शिक्षा, सीप, समाचार तथा व्यवहारिक ज्ञान डिजिटल माध्यमबाट सहज रूपमा प्राप्त भइरहेको छ, जसले समाजलाई प्रविधिसँग जोड्न महत्वपूर्ण भूमिका खेलेको छ । तर यसको गलत प्रयोगले समस्या सिर्जना गर्न सक्ने भएकाले विशेष सचेतना आवश्यक रहेको उहाँको भनाइ थियो । कार्यक्रममा संस्थाले प्रोडक्शन गरेको डिजिटल सुरक्षा सम्बन्धी जनचेतनामूलक गीत सार्वजनिक पनि गरिएको छ गीतमा ताल डान्स हाउसलेसुचना सहितको नृत्य प्रस्तुति गरेको थियो । साथै, डिजिटल सुरक्षासम्बन्धी गीतिनाटकमार्फत अनलाइन हिंसा र डिजिटल दुव्र्यवहारबाट कसरी सुरक्षित रहने भन्ने सन्देश प्रवाह गरिएको थियो ।

दोस्रो सत्रअन्तर्गत आयोजित युवा बहसमा सहभागी युवाहरूबाट आएका प्रश्नहरूको सम्बोधन गर्दै राष्ट्रिय स्वतन्त्र पार्टीका जिल्ला सभापति छित्र कुमार कार्कीले युवाका समस्याहरूलाई अबको समयमा नीति निर्माणमार्फत मात्र प्रभावकारी रूपमा समाधान गर्न सकिने बताउनुभयो। उहाँका अनुसार नीति बनाएर कार्यान्वयनको दिशामा अघि बढे मात्रै युवाका समस्या सम्बोधन हुने र दीर्घकालीन समाधान सम्भव हुने उहाँले जोड दिनुभयो। कार्यक्रममा अधिकारकर्मी, सञ्चारकर्मी, सुरक्षाकर्मी, किशोरी तथा विभिन्न संघसंस्थाका प्रतिनिधि, पत्रकार लगायतको सहभागिता रहेको थियो । कार्यक्रम महिला सशक्तिकरण स्रोत केन्द्र उदयपुरका अध्यक्ष ज्योती दनुवारको अध्यक्षतामा भएको थियो भनेकार्यक्रम सञ्चालन संस्थाका कार्यक्रम संयोजक सुजाता सुवेदीले गर्नुभएको थियो । कार्यक्रम होटल हिमालयन बासबारीमा सम्पन्न भएको हो ।








