महिलामाथि हुने हिंसा र मिडियाको भूमिका विषयक अन्तर्कृया

0
18

उदयपुर,२०८३ वैशाख ३० । उदयपुरमा महिलामाथि हुने हिंसाको वर्तमान परिदृश्य र मिडियाको भूमिकाबारे अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । किशोरी तथा महिलामाथि हुने हिंसा न्यूनीकरण, लैङ्गिक समानता तथा सामाजिक सचेतनाका विषयमा मिडियाको भूमिका थप प्रभावकारी बनाउन उदयपुरमा पत्रकारहरूसँग अन्तरक्रिया तथा छलफल कार्यक्रम सम्पन्न भएको छ ।
मंगलकार नेपाल पत्रकार महासंघ को सभाहलमा तरङ्गिनी फाउन्डेशन, ओरेक नेपाल र रौता समुदाय हित केन्द्रको आयोजनामा तथा नेपाल पत्रकार महासंघ को समन्वयमा “महिलामाथि हुने हिंसाको वर्तमान अबस्था र मिडियाको उत्तरदायित्व” विषयक अन्तरक्रिया कार्यक्रम सञ्चालन गरिएको हो । कार्यक्रममा तीनवटै आयोजक संस्थाले आफ्नो संस्था तथा गरेका गतिविधिबारे प्रतिवेदन सार्वजनिक गरेका थिए । कार्यक्रममा प्रस्तुत तथ्यांकअनुसार ओरेक नेपाल र त्रियुगा नगरपालिकाको साझेदारीमा त्रियुगा नगरपालिका–१० बाँसबारीमा सञ्चालित महिला सुरक्षा आवासमा जनवरीदेखि मार्च २०२६ सम्म १७ जना हिंसापीडित महिलाले सेवा लिएका छन् ।
तीन महिनाको अवधिमा सुरक्षा आवास सेवा केन्द्रमा घरेलु हिंसाका ९, यौन हिंसाका ४, सामाजिक हिंसाका २ र अन्य २ गरी जम्मा १७ वटा हिंसाका घटना दर्ता भएका छन् । उमेर समूहअनुसार १० देखि १४ वर्षका किशोरीहरू सर्वाधिक पीडित रहेको तथ्यांकले देखाएको छ । कार्यक्रममा सहभागीहरूले महिलामाथि हुने हिंसाका घटनालाई संवेदनशील ढंगले उजागर गर्न र पीडितमैत्री समाचार सम्प्रेषण गर्न सञ्चारमाध्यमको भूमिका थप जिम्मेवार हुनुपर्नेमा जोड दिएका थिए ।