उदयपुर, २०८३ वैशाख २६ । सुनौलो टोल विकास संस्थाले आजदेखि पुस्तक पढ्ने नयाँ अभियानको औपचारिक थालनी गरेको छ । समुदायमा पुस्तक पढ्ने बानीको विकास गर्ने उद्देश्यसहित सुरु गरिएको अभियानअन्तर्गत प्रत्येक व्यक्तिले एउटा पुस्तक एक महिनासम्म अध्ययन गर्न पाउने व्यवस्था गरिएको संस्थाले जनाएको छ । अभियानको पहिलो दिन सहभागीहरूलाई आफ्नो रुचिअनुसार पुस्तक छनोट गर्ने अवसर प्रदान गरिएको थियो । २०७९ सालमा त्रियुगा नगरपालिकामा विधिवत् दर्ता भई सञ्चालनमा आएको सुनौलो टोल विकास संस्था संगमटोलको उत्तर–पश्चिम क्षेत्रमा अवस्थित छ । संस्थाले हालसम्म बचत सङ्कलन, ऋण लगानी, सामाजिक सचेतना लगायतका विभिन्न सामाजिक गतिविधि सञ्चालन गर्दै आएको छ । संस्थाका अध्यक्ष बिन्द्र तामाङले पुस्तक पढ्ने अभियानलाई निरन्तर रूपमा अगाडि बढाइने बताउनुभयो । कार्यक्रममा संस्थाका उपाध्यक्ष सरिता पौडेल गुरागाइँले “पुस्तक किन पढ्ने ?” विषयमा सहजीकरण गर्नुभएको थियो । अभियान सञ्चालनका लागि आवश्यक पुस्तकहरू धनकुमार श्रेष्ठले निःशुल्क रूपमा उपलब्ध गराउनुभएको हो । श्रेष्ठ नेपाल लाइब्रेरी फाउन्डेसनका महासचिव, गृहपुस्तकालय अभियानका केन्द्रीय संयोजक तथा संगम टोल सुधार समितिका अध्यक्ष समेत हुनुहुन्छ ।





