अब हुलाक सेवा मार्फत घरमै राहदानी

0
3

उदयपुर,२०८३ बैशाख १८ गते शुक्रबार । उदयपुरका नागरिकले राहदानी लिन अब जिल्ला प्रशासन कार्यालय धाउनु नपर्ने भएको छ। नेपाल सरकारले सुरु गरेको नयाँ व्यवस्थाअनुसार हुलाक सेवामार्फत घरमै राहदानी पु¥याउने सेवा उदयपुरमा औपचारिक रूपमा सञ्चालनमा आएको जिल्ला प्रशासन कार्यालय उदयपुरले जनाएको छ । नेपाल सरकार मन्त्रिपरिषद्को गत चैत्र १३ गतेको निर्णयअनुसार सरकारी सेवा घरदैलोमै पु¥याउने उद्देश्यले हुलाक सेवालाई ‘गभर्नमेन्ट कुरियर सर्भिस’ का रूपमा विकास गर्ने योजना अघि बढाइएको थियो। सोही योजना कार्यान्वयन गर्दै जिल्ला प्रशासन कार्यालय उदयपुर र जिल्ला हुलाक कार्यालय उदयपुरबीच बैशाख १७ गते सम्झौता भई सेवा सुरु गरिएको जिल्ला प्रशासन कार्यालय उदयपुरका प्रशासकीय अधिकृत पदमराज उपाध्यायले बताउनुभयो। यस सेवाअन्तर्गत अब राहदानीका लागि आवेदन दिने सेवाग्राहीले आफूले चाहेको तरिकाले राहदानी प्राप्त गर्न सक्नेछन्। आवेदनकै समयमा हुलाकमार्फत घरमै बुझ्ने वा कार्यालयबाटै बुझ्ने भन्ने विकल्प छनोट गर्न सकिने व्यवस्था गरिएको सहायक प्रमुख जिल्ला अधिकारी विक्रम पाण्डेयले जानकारी दिनुभयो । जिल्ला प्रशासन कार्यालय उदयपुरले सबै सेवाग्राहीलाई राहदानी आवेदन गर्दा नै आफ्नो रोजाइ स्पष्ट रूपमा जानकारी गराउन समेत आग्रह गरेको छ। नयाँ व्यवस्थासँगै उदयपुरका नागरिकलाई राहदानी प्राप्त गर्न अब जिल्ला प्रशासन कार्यालयसम्म धाउनुपर्ने झन्झट अन्त्य भएको छ। हुलाक सेवामार्फत घरमै राहदानी प्राप्त गर्न सकिने भएपछि सेवा प्रवाह सहज, छिटो र नागरिकमैत्री बन्ने अपेक्षा गरिएको छ ।