उदयपुर, २०८३ बैशाख १७ गते बिहिबार । लागू औषध दुव्र्यसन नियन्त्रणमा महिलाको भूमिकाबारे केन्द्रित सचेतनामूलक कार्यक्रम सम्पन्न भएको छ । जिल्ला प्रहरी कार्यालय उदयपुर, त्रियुगा नगरपालिका वडा नं. १२ को कार्यालय तथा गढीमाई स्टार मिडिया प्रा.लि. उदयपुरको संयुक्त सहकार्यमा आयोजित उक्त कार्यक्रम वडा नं. १२ को सभाहलमा सम्पन्न भएको हो। कार्यक्रममा जिल्ला प्रहरी कार्यालय उदयपुरका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक निरञ्जन थापा, वडा अध्यक्ष नबिनकुमार बान्तवा राई, वडा सदस्यहरू, सामाजिक अभियान्ता, टोल विकास संस्थाका प्रतिनिधि, समाजसेवी तथा स्थानीय महिलाहरू सहित करिब ५५ जनाको सहभागिता रहेकोे थियो । कार्यक्रममा प्रहरी नायब उपरीक्षक थापाले लागू औषध दुव्र्यसनका नकारात्मक असर, यसको रोकथाम तथा नियन्त्रणका उपाय र यस अभियानमा महिलाहरूले खेल्न सक्ने महत्वपूर्ण भूमिकाबारे प्रशिक्षण दिनुभएको थियो। उहाँले लागू औषध नियन्त्रणका लागि समुदायस्तरबाटै सचेतना र सक्रियता आवश्यक रहेकोमा जोड दिनुभयो।





