उदयपुरमा छुट्टाछुट्टै स्थानबाट लागूऔषधसहित तीन जना पक्राउ 

0
8

उदयपुर,२०८३ बैशाख १० गते बिहिबार । उदयपुरमा प्रहरीले छुट्टाछुट्टै स्थानबाट लागूऔषधसहित तीन जनालाई पक्राउ गरेको छ । जिल्लाको बेलका नगरपालिका वडा नं. १ आम्बासीस्थित रुपनगर–चतारा सडक खण्डमा बुधबार बेलुका करिब ८ः१५ बजे लागूऔषधसहित दुई जना पक्राउ परेका छन् । प्रहरी चौकी भागलपुरबाट खटिएको टोलीले फत्तेपुरबाट पैतालिस चोकतर्फ आउँदै गरेको मोटरसाइकल चेकजाँच गर्ने क्रममा उनीहरूलाई नियन्त्रणमा लिएको हो । पक्राउ पर्नेमा मोटरसाइकल चालक आर्जु राई र पछाडि सवार श्याम कुमार कार्की रहेका छन् । उनीहरूको साथबाट १५५ मिलिग्राम तौलको ब्राउन सुगर जस्तो देखिने लागूऔषध फेला परेको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ । हाल दुवै जनालाई मोटरसाइकलसहित नियन्त्रणमा लिई इलाका प्रहरी कार्यालय रामपुरठोक्सिलामा राखी थप अनुसन्धान भइरहेको छ ।
त्यस्तै, लागूऔषध गाँजासहित एक जना युवक पनि पक्राउ परेका छन् । अस्थायी प्रहरी पोष्ट कोठुबाट खटिएको प्रहरी टोलीले बुधबार बिहान करिब ११ः४० बजे बेलका नगरपालिका वडा नं. ८ कोठु क्षेत्रबाट २७ किलोग्राम लागूऔषध गाँजासहित उनलाई पक्राउ गरेको हो । सवारी साधन चेकजाँच गर्ने क्रममा अटोमा ल्याउँदै गरेको अवस्थामा सो परिमाणको गाँजा सहित चालक सोही स्थानका अशोक राईलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ । उनलाई पनि हाल इलाका प्रहरी कार्यालय रामपुरठोक्सिलामा राखी थप अनुसन्धान भइरहेको छ ।