उदयपुर,२०८३ बैशाख ९ गते बुधबार । उदयपुरगढी गाउँपालिका वडा नं. ८ चोरुम्फामा मंगलबार साँझ आगलागी हुँदा दुई जना घाइते भएका छन्। साँझ करिब ७ः५० बजे स्थानीय ४९ वर्षीया साबित्रा मगरले घरमा बिडी सल्काउने क्रममा बच्चाले खेल्दा पोखिएको तारपिनको तेलमा आगो सल्किँदा आगलागी भएको प्रहरीले जनाएको छ। घटनाको सूचना प्राप्त हुनासाथ अस्थायी प्रहरी पोष्ट नेपालटारबाट खटिएको प्रहरी टोलीले तत्काल घटनास्थलमा पुगेर उद्धार कार्य गर्नुका साथै आगो नियन्त्रणमा लिएको हो । प्रहरीा अनुसार आगलागीमा परी साबित्रा मगरको दुवै हात, खुट्टा र कम्मर पछाडिको भाग गरी करिब ४० प्रतिशत शरीर जलेको छ। आगो निभाउने क्रममा छिमेकी ४१ वर्षीया विष्णु मगरको दुवै हात र खुट्टामा करिब १० प्रतिशत जलन भएको छ । घाइते दुवै जनाको जिल्ला अस्पताल उदयपुरमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।





