उदयपुर,२०८३ बैशाख ८ गते मंगलबार । उदयपुरको चौदण्डीगढी नगरपालिका वडा नं. ७ बेल्टार बजारस्थित रबिन कुमार दास र पदम खड्काको घरमा गएराति करिब ०३ः२० बजे अचानक आगलागी हुँदा २ जनाको मृत्यु भएको छ भने करिब रु ६३ लाख बराबरको क्षति भएको छ। आगलागीमा परी चौदण्डीगढी नगरपालिका–७ बस्ने पदम खड्काको घरमा रहेका उहाका बुवा ७० वर्षीय लक्ष्मी नारायण खड्का र नाती ३० वर्षीय पवन खड्काको जलेर मृत्यु भएको प्रहरीले जनाएको छ। आगलागीबाट रबिन कुमार दासको काठको घर तथा किराना पसल जलेर रु २० लाख बराबरको क्षति भएको छ। त्यसैगरी पदम खड्काको घर र २ वटा खसी समेत गरी करिब रु ३१ हजार बराबरको क्षति भएको छ। सोही घरमा रहेको मित्र थापामगरको स्टेशनरी पसलमा करिब रु ६० हजार, होम बहादुर परियारको ट्रेलरमा करिब रु २ हजार, तथा मैया पौडेलको चटपटे पसल र अन्य सामानमा करिब रु ४ लाख बराबरको क्षति भएको छ। घटनाबारे जानकारी पाएपछि प्रहरी नायव उपरीक्षक निरञ्जन थापाको कमाण्डमा प्रहरी टोली, दमकल र स्थानीयवासीको सहयोगमा आगो बिहान ०५ः३५ बजे पूर्ण रूपमा नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ। मृतकहरूको शव नगर अस्पताल बेल्टारको शवगृहमा राखिएको छ भने घटनाबारे थप अनुसन्धान भइरहेको छ।





