उदयपुरमा दनुवारी खाना परिकार (कुक) तालिम सञ्चालन हुने

0
13

उर्मिला दनुवार, रेडियो उदयपुर । २०८३ बैशाख ७ गते सोमबार । दनुवार समुदायको परम्परागत खानाको संरक्षण तथा प्रवद्र्धन गर्ने उद्देश्यले दनुवारी खाना परिकार (कुक) तालिम सञ्चालन हुने भएको छ। २०८३ बैशाख ६ गते सम्पन्न बैठकले दनुवार जागरण समिति, कोशी प्रदेश कार्य समितिको आयोजनामा उक्त तालिम सञ्चालन गर्ने निर्णय गरेको हो। तालिममा आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठान, सानेपा, ललितपुरको आर्थिक सहयोग रहने जनाइएको छ । दनुवार जागरण समिति कोशी प्रदेश कार्य समितिका अध्यक्ष गणेश कुमार दनुवारका अनुसार ३ दिने तालिम बैशाख २५, २६ र २७ गते त्रियुगा नगरपालिका–९, दिपुटोलस्थित दनुवार महिला समाज सुधार संघको भवनमा सञ्चालन गरिनेछ । तालिम बिहान ७ः३० बजेदेखि साँझ ५ः३० बजेसम्म सञ्चालन हुने आयोजकले जनाएको छ । तालिममा विभिन्न जिल्ला तथा स्थानीय तहबाट सहभागी छनौट गरिनेछ । दनुवार जागरण समिति उदयपुर जिल्ला कार्य समितिबाट ४ जना (कटारी र त्रियुगाबाट २–२ जना) दनुवार जागरण समिति सुनसरी,मोरङ र झापाबाट २–२ जना, इलामबाट १ जना सहभागी हुनेछन्। यस्तै चौदण्डीगढी नगर कार्य समितिबाट २, कटारी नगर कार्य समितिबाट ४ र त्रियुगा नगर कार्य समितिबाट २ जना सहभागी रहने छन् । यसैगरी दनुवार महिला समाज सुधार संघ, दनुवार सामुदायिक होमस्टेबाट २–२ जना, दनुवार होटल व्यवसायीबाट ३ जना र खाना परिकार मेला स्टल व्यवसायीबाट ३ जना सहभागी हुनेछन्। दनुवार जागरण समिति कोशी प्रदेश कार्य समितिबाट १ जना सहभागी रहने गरी कुल ३० जनाको सहभागिता रहने जनाइएको छ। तालिमबाट दनुवार समुदायको मौलिक परिकारको संरक्षण तथा व्यवसायिक प्रवद्र्धनमा सहयोग पुग्ने विश्वास गरिएको छ। दनुवार जागरण समिति कोशी प्रदेश कार्य समितिका अध्यक्ष गणेश कुमार दनुवारका अनुसार तालिम व्यवस्थापनका सम्पूर्ण तयारी अघि बढाइएको छ ।