Thursday, August 13, 2026
Homeकोशी प्रदेशफागु पूर्णिमा मर्यादित र सुरक्षित रूपमा मनाउन उदयपुर प्रशासनको आग्रह

फागु पूर्णिमा मर्यादित र सुरक्षित रूपमा मनाउन उदयपुर प्रशासनको आग्रह

उदयपुर । जिल्ला प्रशासन कार्यालय, उदयपुरले फागु पूर्णिमा (होली) पर्वलाई मर्यादित, सुरक्षित तथा सभ्य रूपमा मनाउन जिल्लावासीमा आग्रह गरेको छ । कार्यालयले आइतबार एक सूचना जारी गर्दै यस वर्षको फागु पूर्णिमा (होली) संघीय प्रतिनिधि सभा सदस्य निर्वाचन, २०८२ को मौन अवधिसँग समेत जोडिएकाले सुरक्षा संवेदनशीलता र निर्वाचन आचारसंहिता पालना गर्न विशेष ध्यान दिन आग्रह गरेको हो । सूचनामा राजनीतिक दल, उम्मेदवार, मतदाता तथा सर्वसाधारण सबैलाई आपसी सद्भाव, शान्ति र सौहार्दपूर्ण वातावरण कायम राख्दै पर्व मनाउन अनुरोध गरिएको छ । साथै, फागुन १८ र १९ गते मनाइने होलीलाई अनुशासित, व्यवस्थित तथा कानुनअनुसार मनाउन निर्देशन दिइएको छ ।
जिल्ला प्रशासन कार्यालय, उदयपुरले निर्वाचन आचारसंहिता पूर्ण रूपमा पालना गर्न, उल्लङ्घन भएमा नजिकको सुरक्षा निकायलाई तत्काल जानकारी गराउन, भिडभाड हुने कार्यक्रम सञ्चालन गर्नुअघि अनिवार्य अनुमति लिन तथा कसैको इच्छा विपरीत जबरजस्ती रङ दल्ने, लोला हान्ने र उच्छृङ्खल गतिविधि नगर्न आग्रह गरेको छ । यसैगरी, मादक पदार्थ सेवन गरी सवारी साधन नचलाउन, सार्वजनिक स्थानमा होहल्ला नगर्न तथा सुरक्षाकर्मी, कर्मचारी र सर्वसाधारणमाथि अवाञ्छित व्यवहार नगर्न समेत सचेत गराइएको छ । प्रशासनले आचारसंहिता उल्लङ्घन तथा कानुन विपरीतका गतिविधि गरेमा प्रचलित कानुनअनुसार कडा कारबाही गरिने चेतावनी दिएको छ । साथै, जिल्ला प्रशासन कार्यालय, उदयपुरले होलीको अवसरमा सम्पूर्ण जिल्लावासीमा शुभकामना व्यक्त गरेको छ ।

radioudayapur
ग्रामिण महिलाको नेतृत्वमा संचालित सामुदायिक रेडियो उदयपुर
RELATED ARTICLES
- Advertisment -
Google search engine

Most Popular