‘देखाउँछौं हामी परिणाम,पाँच वर्षमा ५० काम’भन्ने नारासहित प्रतिबद्धता पत्र सार्वजनिक

0
55

रेडियो उदयपुर । उदयपुर क्षेत्र नम्बर १ का दुर्गा कुमार थापा ‘स्वस्ती’ ले ‘देखाउँछौं हामी परिणाम, पाँच वर्षमा ५० काम’ भन्ने नारासहित आफ्नो चुनावी प्रतिबद्धता पत्र सार्वजनिक गर्नु भएको छ । समृद्ध उदयपुर निर्माणको लक्ष्यसहित बिहीबार गाईघाट स्थित पिपल चोकमा आयोजित कार्यक्रममा उनले निर्वाचन लक्षित प्रतिबद्धता सार्वजनिक गरेका हुन्। थापाले आफूलाई विकास, स्थायित्व र सुशासनको पक्षधर उम्मेदवारका रूपमा प्रस्तुत गर्दै संविधानको रक्षा,अधुरा योजनाको सम्पन्नता, कृषि आधुनिकीकरण, स्वास्थ्य–शिक्षा सुधारदेखि ‘स्मार्ट सिटी’ कार्यक्रमसम्मका महत्वाकांक्षी योजनाहरू समेटेका छन्।
प्रतिबद्धता पत्रमा नेपालको संविधान तथा संघीय लोकतान्त्रिक गणतन्त्रको रक्षा गर्ने स्पष्ट प्रतिबद्धता व्यक्त गरिएको छ। समयानुकूल कानुन परिमार्जन, जनमैत्री कानुन निर्माण र सुशासनलाई प्राथमिकतामा राखिने उल्लेख छ। स्थानीय तहबाट माग भई आएका योजनालाई प्राथमिकताका आधारमा अघि बढाउने तथा अधुरा सडक, पुल, भवन र खानेपानी आयोजना समयमै सम्पन्न गर्ने लक्ष्य लिइएको छ।
स्वास्थ्य क्षेत्रलाई विशेष प्राथमिकता दिँदै उदयपुरमै मेडिकल कलेज स्थापना, जिल्ला अस्पताललाई प्रदेशस्तरीय अस्पतालका रूपमा विकास तथा रिफरल सेन्टरका रूपमा स्तरोन्नति गर्ने योजना अघि सारिएको छ। कोभिड अस्पताललाई ट्रमा सेन्टरमा रूपान्तरण गर्ने, सामाजिक सुरक्षा भत्ता वृद्धि तथा सुरक्षित आवास प्रवद्र्धन कार्यक्रमलाई निरन्तरता दिने प्रतिबद्धता पनि समेटिएको छ।
कृषि र कृषकलाई केन्द्रमा राख्दै किसान परिचयपत्र र किसान पेन्सन ऐन जारी गर्न पहल गर्ने, ‘एक पालिका एक कृषि बजार’ र ‘एक पालिका एक उत्पादन’ कार्यक्रम लागू गर्ने उल्लेख छ। व्यावसायिक कृषि तथा पशु विज्ञान शिक्षा अनिवार्य, कृषिको आधुनिकीकरण र यान्त्रीकरणमार्फत युवालाई स्वरोजगार बनाउने योजना अघि सारिएको छ।
पूर्वाधारतर्फ त्रियुगा नदीको स्थायी तटबन्ध, हरित करिडोर, चन्द्र नहरको आधुनिकीकरण, सिंचाइ व्यवस्थापन र बाढी नियन्त्रणलाई प्राथमिकता दिइएको छ। ‘एक पालिका एक रंगशाला’, साहसिक खेल (साइकलिङ, प्याराग्लाइडिङ, ¥याफ्टिङ) प्रवद्र्धन तथा पर्यटन पूर्वाधार विकास गरी सन् २०३० सम्म सम्भावित पर्यटकीय स्थललाई व्यवस्थित केन्द्रका रूपमा विकास गर्ने योजना सार्वजनिक गरिएको छ । शिक्षामा सामुदायिक विद्यालयमा ई–लाइब्रेरी, टेलि–एजुकेसन कार्यक्रम, उच्च शिक्षाको गुणस्तर वृद्धि र शिक्षकका सेवा–सर्त सुनिश्चित गर्न पहल गर्ने उल्लेख छ।
सबै नागरिकलाई स्वच्छ खानेपानीको पहुँच पु¥याउने, शहरीकरण उन्मुख क्षेत्रमा चक्रपथ निर्माण गरी व्यवस्थित सहर विकास गर्ने लक्ष्य लिइएको छ। सामाजिक समावेशीकरणतर्फ थारु, जनजाति र दलित समुदायको जनसंख्याका आधारमा विशेष, संरक्षित तथा आरक्षित क्षेत्र घोषणा गर्न पहल गर्ने उल्लेख छ।
भूमिहीन सुकुम्बासी,दलित तथा अव्यवस्थित बसोबासीलाई जग्गाधनी पुर्जा वितरण, महिला प्रजनन स्वास्थ्य सुधार, बालमैत्री वडा घोषणा, भाषा–कला–संस्कृतिको संरक्षण तथा प्रवद्र्धनका कार्यक्रम पनि प्रतिबद्धता पत्रमा समावेश छन्।
वन तथा वातावरण संरक्षण, जलवायु परिवर्तनसम्बन्धी प्रभावकारी कानुन निर्माण, फोहोर व्यवस्थापनको स्थायी समाधान र वन्यजन्तु नियन्त्रण कार्यक्रम सञ्चालन गर्ने तथा पालिका केन्द्रमा ‘स्मार्ट सिटी’ र औद्योगिक ग्राम स्थापना गर्ने योजना पनि अघि सारिएको छ।
प्रतिबद्धता पत्र सार्वजनिक गर्दै थापाले छिट्टै जिल्लाका १० गौरवका योजना सार्वजनिक गर्ने जानकारी दिए। उनले आफ्नो अनुभवलाई जनप्रतिनिधिका रूपमा उपयोग गर्दै ‘समृद्ध उदयपुर’ निर्माणमा केन्द्रित हुने दाबी गर्नु भएको छ ।
कार्यक्रममा नेकपा (एमाले) उदयपुरका अध्यक्ष भावगत राउतले विकास, सुशासन र समावेशीतालाई मुख्य एजेन्डा बनाइएको प्रतिबद्धता पत्रले उदयपुर–१ को समग्र रूपान्तरणलाई लक्ष्य बनाएको बताउनु भयो । उहाले एमाले प्रश्नबाट नभाग्ने पार्टी भएकाले जनतामाझ खुला स्थानमै प्रतिबद्धता सार्वजनिक गरिएको उल्लेख गर्दै यसपटक उदयपुरका दुवै निर्वाचन क्षेत्रमा एमाले विजयी हुने दाबी समेत गर्नु भयो । सोही अवसरमा नेपाल कम्युनिस्ट पार्टी (संयुक्त) का उदयपुर संयोजक यादप पोखरेल एमालेमा प्रवेश गर्नु भएको थियो ।