रेडियो उदयपुर,माघ २३ । उदयपुरमा माघ २६ गतेदेखि कक्षा ६ मा अध्ययनरत किशोरीहरूलाई पाठेघरको मुखको क्यान्सर विरुद्धको एच.पि.भी (ह्युमन पापिलोमा भाइरस) खोप लगाइने भएको छ। पाठेघरको मुखको क्यान्सर रोकथामका लागि जिल्लाभरका लक्षित किशोरीहरूलाई यो खोप प्रदान गरिने जिल्ला स्वास्थ्य कार्यालय उदयपुरले जनाएको छ। जिल्लाभरका सामुदायिक तथा संस्थागत विद्यालयमा कक्षा ६ मा अध्ययनरत तथा विद्यालय बाहिर रहेका १० वर्ष उमेर समूहका किशोरीलाई एचपिभी खोप लगाइने खोप सुपरभाइजर चिरञ्जीवी निरौलाले जानकारी दिनुभयो। उहाँका अनुसार यो खोप पाठेघरको मुखको क्यान्सरबाट बच्न प्रभावकारी मानिन्छ र समयमै खोप लगाउनु अत्यन्त आवश्यक छ। जिल्ला स्वास्थ्य कार्यालय उदयपुरले शुक्रबार आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा यस वर्ष सञ्चालन हुने खोप अभियानबारे जानकारी दिइएको हो। यसै कार्यक्रम अन्तर्गत गत वर्ष खोप लगाउन छुटेका हाल कक्षा ७ देखि १० सम्म अध्ययनरत छात्रा तथा ११ देखि १४ वर्ष उमेर समूहका विद्यालय बाहिर रहेका किशोरीहरूलाई पनि एचपिभी खोप लगाइने कार्यालयले जनाएको छ। खोप सुपरभाइजर निरौलाका अनुसार जिल्लाभर गत वर्ष छुटेका २९३ जना किशोरीसहित कुल तीन हजार ८४८ जना किशोरीलाई पाठेघरको मुखको क्यान्सर विरुद्धको एचपिभी खोप लगाइनेछ। जिल्लाका आठवटै स्थानीय तहमा रहेका २०४ सामुदायिक र ८२ संस्थागत गरी जम्मा २८७ विद्यालयका किशोरीहरू यस खोप अभियानबाट लाभान्वित हुनेछन्। खोप अभियान प्रभावकारी रूपमा सञ्चालन गर्न जिल्लाभर ३४९ वटा खोप केन्द्र तोकिएको छ। साथै ३६३ जना स्वास्थ्यकर्मी र ३९४ जना स्वयंसेवक परिचालन गरिने जनाइएको छ। एचपिभी खोप अभियान माघ २६ गतेदेखि फागुन १ गतेसम्म सञ्चालन हुनेछ। जिल्ला स्वास्थ्य कार्यालयले लक्षित उमेर समूहका किशोरी तथा अभिभावकहरूलाई निर्धारण गरिएको मिति र खोप केन्द्रमा उपस्थित भई खोप लगाउन आग्रह गरेको छ।





