रेडियो उदउपुर,माघ ४ गते । उदयपुर र भोजपुर जिल्ला जोड्ने सुनकोशी नदीमा आइतबार यात्रुवाहक बस डुबेको छ। फेरीमार्फत बस तार्ने क्रममा सन्तुलन बिग्रँदा दुर्घटना भएको हो। स्थानीय स्रोत–साधन प्रयोग गरी प्लास्टिकका ड्रम जोडेर बनाइएको फेरी प्रयोग गरिएको थियो। उदयपुरबाट भोजपुरतर्फ बस तार्दै गर्दा फेरी नदीको बीच भागमा असन्तुलित भएको थियो। असन्तुलनपछि बस सुनकोशी नदीमा डुबेको स्थानीयले बताएका छन्। डुबेको बस फेरी सञ्चालकमध्ये एक रत्न तामाङको रहेको बताइएको छ। चौदण्डीगढी नगरपालिका वडा नं. १ का पूर्व अध्यक्ष रोहित तामाङका अनुसार बस इटहरीबाट भोजपुरको बालखातर्फ जाँदै थियो। दुर्घटनामा बसका चालक डुबेका थिए। स्थानीयको सहयोगमा चालकको सकुशल उद्धार गरिएको छ। बसबाट यात्रुहरू पहिल्यै उतारिएकाले मानवीय क्षति भने हुन नपाएको प्रहरीले जनाएको छ । घटनाको पुष्टि गर्दै इलाका प्रहरी कार्यालय बेल्टारका प्रहरी निरीक्षक प्रभात सुब्बाले प्रहरी टोली घटनास्थलतर्फ खटिएको जानकारी दिनुभयो।
फेरी जेनेरेटरमा जोडेर फलामे लठ्ठाको सहायताले सञ्चालन गरिँदै आएको थियो। उक्त फेरीबाट बस, बोलेरो र ट्र्याक्टरजस्ता ठूला सवारी साधन समेत वारपार गराइँदै आएको थियो। प्राविधिक परीक्षण, सुरक्षा मापदण्ड र सरकारी स्वीकृतिविना फेरी सञ्चालन हुँदै आएको बताइएको छ। फेरी सञ्चालकले बोलेरो तथा साना सवारी साधनबाट दुई हजार रुपैयाँसम्म शुल्क लिँदै आएका थिए। यात्रुवाहक बस, ट्र्याक्टर र ठूला सवारी साधनबाट चार हजार रुपैयाँसम्म असुल्ने गरिएको थियो। रानीटार क्षेत्रमा सुनकोशी नदीमाथि मोटरेबल पक्की पुल निर्माणाधीन अवस्थामा छ। २०७४ सालमा शिलान्यास भएको पुल एक दशक बित्दा पनि निर्माण सम्पन्न हुन सकेको छैन। पुल नबनेपछि स्थानीय रत्न तामाङसहितको समूहले करिब २५ लाख रुपैयाँ लगानीमा फेरी सञ्चालन गर्दै आएका थिए। पुल नहुँदा सवारी साधन वारपार गर्न स्थानीय फेरी प्रयोग गर्न बाध्य छन्। यात्रुवाहक बसका यात्रुहरू भने झोलुङ्गे पुलबाट पैदल पार गराइने गरिएको र फेरीबाट बस मात्र तार्ने व्यवस्था रहेको स्थानीय अम्बेबर राईले जानकारी दिनुभयो ।





