त्रियुगा ५ मा कुकुरको आक्रमणबाट १० जना घाइते, स्थानीयवासी त्रासमा

0
6

रेडियो उदयपुर, पुस २२ — उदयपुरको त्रियुगा नगरपालिका वडा नं. ५, श्रीपुरमा कुकुरको आक्रमणबाट १० जना घाइते भएका छन्। पुस १५, २० र २१ गतेसम्मको अवधिमा १० जनालाई कुकुरले टोकेर घाईते बनाएको त्रियुगा नगरपालिका वडा नं. ५ का वडा अध्यक्ष उद्धवकुमार थापाले जानकारी दिनु भयो । थापाका अनुसार देउरीका ५० वर्षीय गोमा कटुवाल, भलुवाईका पार्बती मगर, कल्पना थापा, लक्ष्मीप्रसाद खतिवडालाई कुकुरले टोकेर घाइते बनाएको हो । त्यसै गरी स्थानीय दिपक बान्तावाका अनुसार ७ वर्षीय प्रतिक थापा परियार, २८ वर्षीय पुना मगर र ३० वर्षीय सुमन मगर कुकुरको टोकाइबाट घाइते भएका हुन् । घाइते पुना मगरका अनुसार उपचारको लागि देउरी नगर अस्पतालमा जादा रेबिजको सुई उपलब्ध नभएको र जिल्ला अस्पतालमा समेत अभाव हुँदा बाहिरबाट खरिद गरेर लगाउनुपरेको थियो। यसले गर्दा उपचारमा ठूलो आर्थिक भार परेको उनले गुनासो गरेका छन्। यसैबीच, कुकुरको आक्रमणबाट हुने जोखिम न्यूनीकरणका लागि समयमै प्रभावकारी व्यवस्थापन आवश्यक रहेको स्थानीयवासीहरूको भनाइ रहेको छ। स्थानीयवासीहरूले घटनापछि पनि कुकुरलाई नियन्त्रणमा नल्याइएकाले ती कुकुरहरूले अन्य कुकुरहरूलाई समेत आक्रमण गरिरहेको बताएका छन्। यसका कारण विद्यालय जाने बालबालिका, वृद्धवृद्धा तथा सर्वसाधारण स्थानीयहरू डर र त्रासमा बस्न बाध्य भएका छन् । वडा अध्यक्ष थापाले कुकुरले टोकेका धेरैजना बिरामी आफ्नो सम्पर्कमा आएको बताउनु भयो ।उहाले तत्कालको लागि कुकुरले टोेकेका बिरामीलाई उपचारको व्यवस्था मिलाउने र दीर्घकालिन रुपमा छाडा कुकुर नियन्त्रणको पहल गरिने जानकारी दिनु भयो ।