रेडियो उदयपुर , पुस २२ । उदयपुरमा सोमबार ट्याक्टर दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । उदयपुरको त्रियुगा नगरपालिका–७ होक्से स्थित मदनभण्डारी लोकमार्गमा (सिमेन्ट घोल्ने मिक्चर जडान भएको) ट्याक्टर दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने अन्य दुई जना घाइते भएका छन्। जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रहरी नायब उपरीक्षक केदारमान दोङका अनुसार त्रियुगा नगरपालिका–७ होक्सेबाट चुहाडे तर्फ आउँदै गरेको स १ त २८२५ नम्बरको ट्याक्टर ओरालोमा अनियन्त्रित भई दुर्घटना हुँदा ट्याक्टरमा सवार त्रियुगा नगरपालिका–६ जलजलेका ४३ वर्षिय राजा हुसेन अली र सोही वडाको मोहनपुर बस्ने २६ वर्षीया आशा सदाको मृत्यु भएको हो । दुर्घटनामा गम्भीर घाइते भएका उनीहरुको जिल्ला अस्पताल उदयपुरमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ। घाइते भएका उदयपुरको त्रियुगा नगरपालिका ६ मोहनपुर बस्ने ४० वर्षीय समिद्रा सदाको विराटनगर स्थित न्यूरो अस्पतालमा उपचार भइरहेको छ भने सोही वडाको जलजले बस्ने ४५ वर्षीय शम्भु सदाको जिल्ला अस्पताल उदयपुरमा उपचार पछि डिस्चार्ज भएका छन् । दुर्घटना पश्चात ट्याक्टर चालक त्रियुगा नगरपालिका ६ बगरटोल बस्ने ३० वर्षीय बिलेतिय भन्ने मनोज साह घटनास्थलबाटै फरार रहेकोले खोजतलास र घटना सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।





