रेडियो उदयपुर, मंसिर १४ आईतबार । “लैङ्गिक हिंसा तथा विद्युतीय अपराध” सम्बन्धी सचेतनामूलक कार्यक्रम आईतबार सम्पन्न भएको छ। जिल्ला प्रहरी कार्यालय उदयपुरको आयोजनामा उदयपुरगढी गाउँपालिका–८ स्थित श्री नमूना मा.वि. भलायडाँडामा अध्ययनरत विद्यार्थीहरूलाई लक्षित गर्दै कार्यक्रम सञ्चालन गरिएको हो। कार्यक्रमले विद्यार्थीहरूलाई लैङ्गिक हिंसा र विद्युतीय अपराधबारे सचेत गराउने, सुरक्षित रहने तरिका सिकाउने तथा समस्या आएमा सहयोग लिन सकिने स्रोतहरूको जानकारी दिने उद्देश्य राखिएको जिल्ला प्रहरी कार्यालय उदयपुरका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक केदारमान दोङले जानकारी दिनुभयो । उक्त कार्यक्रममा विद्यालयका प्राध्यापक, शिक्षक÷शिक्षिकासहित कक्षा ११ र १२ का विद्यार्थीहरूको सहभागीता रहेको थियो। कक्षामा प्रशिक्षण सूचना अधिकारी प्रहरी नायब उपरीक्षक केदारमान दोङले दिनुभएको थियो।






