चितवन,२०८२ कार्तिक ११ गते मंगलबार । डिएन खोहरिया थारु । थारू समुदायको समृद्ध सांस्कृतिक र साहित्यिक धरोहरलाई नयाँ ऊँचाइमा  पु–याउने उद्देश्यका साथ अग्रज लेखक एवम् कवि भजुमनराम महतो कृत थारू भाषाको कविता सङ्ग्रह “कविता माला दिउवा” सोमबार एक भव्य समारोहका बीच लोकार्पण गरिएको छ ।
कार्यक्रम नारायणी नमुना माध्यमिक विद्यालय, भरतपुर, चितवनको सभाकक्षमा भव्यताका साथ सम्पन्न भएको हो । कार्यक्रमको प्रमुख अतिथिका रूपमा थारू लेखक संघ, केन्द्रीय अध्यक्ष तथा वरिष्ठ थारू साहित्यकार कृष्णराज सर्वहारी उपस्थित हुनुहुन्थ्यो ।
उहाँले ‘कविता माला दिउवा’लाई थारू भाषाको काव्य यात्रामा एक महत्वपूर्ण रचनात्मक जोडका रूपमा व्याख्या गर्दै भने — “थारू साहित्य अहिले निरन्तर विकासको बाटोमा छ । भजुमनराम महतोजस्ता स्रष्टाहरूको सिर्जनाले हाम्रो भाषा, संस्कृति र पहिचानलाई बलियो बनाउने काम गरेको छ ।”
कार्यक्रमको अध्यक्षता थारू लेखक संघ, चितवनका अध्यक्ष चन्द्रमणी महतोले गर्नुभएको थियो। उहाँले कविको समर्पण र साहित्यिक योगदानको प्रशंसा गर्दै भने — “भजुमनराम महतो, थारू भाषाका अभियन्ता मात्र होइनन्, भावनाका कवि पनि हुन् ।
उहाँका कवितामा दुःख, माया, संघर्ष र जीवनको गहिरो यथार्थ गुँथिएको छ ।” समर्पण र भावनाको प्रतीक ‘दिउवा’ कविता सङ्ग्रह ‘कविता माला दिउवा’ कवि महतोले आफ्नी स्वर्गीय पत्नी लछुमिनिया महतोको पाँचौँ पुण्य तिथिको स्मृतिमा लोकार्पण गर्नुभएको हो ।
कविले पुस्तकमार्फत आफ्नी जीवनसंगीनीको सम्झनालाई सिर्जनाको उज्यालो “दिउवा” (दीयो) मा रूपान्तरण गरेका छन् । उक्त कवितासङ्ग्रहमा विशेषगरी थारू समाजकी चेलीहरूको पीडा, वेदना, आत्मबल र असमानता विरुद्धको मौन प्रतिवाद अभिव्यक्त गरिएको छ। पुस्तकका कविताहरूले थारू समाजका गहिरा भावनात्मक तहमा पुगेर नारी संवेदना, सामाजिक संरचना र अस्तित्वको प्रश्न उठाएका छन् ।