सरस्वती खोलाले कटान गरी क्षतिग्रस्त बनाएको क्षेत्रमा श्रमदान

0
9

रेडियो उदयपुर, २०८२ असोज २७ गते सोमबार ।   उदयपुरको त्रियुगा नगरपालिका–९ स्थित सरस्वती खोलाले कटान गरी क्षतिग्रस्त बनाएको क्षेत्रमा श्रमदान गरिएको छ। त्रियुगा नगरपालिकाको विशेष सहयोग साथै जलस्रोत तथा सिंचाइ विकास कार्यालय उदयपुरले १० थान जाली र १,००० बोरा सहयोग गरेको थियो।

उक्त श्रमदानमा स्थानीय सामाजिक अभियन्ता, सरस्वती टोल विकास संस्थाका सदस्यहरू र अन्य सहयोगीको सहभागिता रहेको थियो। सरस्वती टोल विकास संस्थाका सदस्य तथा स्थानीय प्रमिला दनुवारले तत्कालका लागि बाँध लगाइए पनि यो दीगो समाधान नभएको बताउनुभयो। उहाँले गुनासो गर्दै भन्नुभयो, “बाँध त लगाइयो, तर यसको भर छैन। यो दीगो समाधान होइन। खोलाले घर बगाउने डरले हामिलाई रातदिन निन्द्रा लाग्दैन। अझ बलियो र स्थायी रूपमा बाँध निर्माण गर्न अत्यावश्यक छ।”

वडा नं. ९ का वडाअध्यक्ष राजकुमार दनुवारका अनुसार श्रमदानमार्फत अस्थायी रूपमा संरक्षण कार्य गरिएको हो। उहाँले भन्नुभयो, “जेसिबीको काम सकिएको छ, ठाउँ–ठाउँमा बोराहरू राखिएका छन्। अझ केही बोरा र जाली राख्न बाँकी छ, तिहारसम्ममा राम्रोसँग बाँध तयार गर्ने योजना छ।”
वडाअध्यक्ष दनुवारले थप श्रमदानका लागि स्थानीयहरूलाई पुनः आह्वान गर्नुभएको छ र वडाबाट समेत केही सहयोग गरिने बताउनुभयो। यसैबीच, त्रियुगा नगरपालिकाका उप–प्रमुख महेस्वरी राईले यस कार्यका लागि एक लाख रुपैयाँ सहयोग गर्ने पनि प्रतिबद्धता जनाउनुभएको छ।