उदयपुरमा गुडिरहेको कारमा आगलागी, पूर्ण रूपमा क्षति

0
24

रेडियो उदयपुर, २०८२ असोज २७ गते सोमबार ।    उदयपुरको उदयपुरगढी गाउँपालिका–७ अधेरीमा गुडिरहेको कारमा अचानक आगलागी हुँदा कार पूर्ण रूपमा जलेर नष्ट भएको छ। जिल्ला प्रहरी कार्यालय उदयपुरका अनुसार सोमबार बिहान ९ः५० बजे इलामबाट काठमाडौंतर्फ जाँदै गरेको बा ९ च ८६६८ नम्बरको कारमा आगलागी भएको हो। कार चालक इलाम चुलाचुली गाउँपालिका–५ का ४२ वर्षीय प्रेम कुमार सेनचुरी, उनकी श्रीमती २७ वर्षीया अनिता सेनचुरी र १४ वर्षीय छोरा आयुष सेनचुरी सकुशल रहेका छन्। तर सात वर्षीय छोरा आरोन सेनचुरी सामान्य घाइते भएका छन्। मुर्कुची संगमचोकस्थित अस्थायी प्रहरी पोष्ट र स्थानीय ट्राफिकको सहयोगमा उद्धार गरि उनलाई उपचारार्थ जिल्ला अस्पताल गाईघाट पठाएको छ। सूचना अधिकारी डिएसपी केदारमान दोङले घट्नास्थलको सर्जमिन मुचुल्का गरि घट्नाबारे थप अनुसन्धान भइरहेको जानकारी दिनुभएको छ ।