रेडियो उदयपुर, २०८२ भदौ ३१ गते, मंगलबार । उदयपुर सदरमुकाम गाईघाटमा जेएनजी आन्दोलनको आडमा भएको तोडफोड र आगजनी घटनामा संलग्न व्यक्तिहरुलाई तत्काल पहिचान गरी कानुनी कारबाही गर्नुपर्नेमा सर्वपक्षीय भेलाले जोड दिएको छ। भ्रष्टाचारविरुद्ध सुशासन र सरकारका गलत कदमविरुद्ध जेएनजी पुस्ताले आह्वान गरेको आन्दोलन शान्तिपूर्ण भए पनि त्यसकै नाममा अराजक गतिविधि गर्ने समूहलाई कारबाही गर्नु सरोकारवालाको साझा माग रहेको छ । सोमबार त्रियुगा नगरपालिकाको सभाहलमा आयोजित सर्वपक्षीय भेलामा सहभागीहरूले आन्दोलनका नाममा सरकारी संरचना, व्यक्तिगत सम्पत्ति र सामुदायिक स्रोतमा क्षति पु¥याउनेलाई खोजी खोजी कानुनी दायरामा ल्याउनुपर्नेमा जोड दिएका हुन् ।
त्रियुगा नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत राजकुमार खड्काका अनुसार आन्दोलनका क्रममा नगरपालिकामा भएको तोडफोड र आगजनीबाट करिब एक करोड रुपैयाँ बराबरको क्षति भएको छ।
वडा नम्बर ११ को कार्यलयमा भएको आगजनीका कारण सम्पूर्ण कागजात र भौतिक सामग्री नष्ट हुँदा तत्काल सेवा प्रवाह गर्न नसकिएको वडा अध्यक्ष सुमन्त कोइरालाले जानकारी दिनु भएको छ ।
सर्वपक्षीय बैठकले आन्दोलनका क्रममा ज्यान गुमाएका युवाप्रति श्रद्धाञ्जली अर्पण गर्ने प्रस्ताव समेत पारित गरेको छ।
यसैबीच, सेवा अबरुद्ध रहेको त्रियुगा नगरपालिकाको नियमित सेवा असोज १ गतेदेखि सुचारु गरिने भएको छ। नगरपालिकाले टोल विकास संस्थाहरुलाई आफ्नो टोलमा शान्ति सुरक्षा कायम गर्न सहयोग गर्न र कुनै पनि अवाञ्छित गतिविधि भए तत्काल नगरपालिकालाई खबर गर्न आग्रह गरेको छ।
नगर प्रमुख बसन्तकुमार बस्नेतले घटनामा संलग्नहरुको पहिचानका लागि सिसिटिभी फुटेज, सामाजिक सञ्जालमा प्रसारित भिडियो तथा फोटो संकलन भइरहेको र दोषीलाई कारबाही गर्ने प्रक्रिया अघि बढिरहेको जानकारी दिनु भएको छ । भेलामा त्रियुगा नगरपालिका प्रमुख बसन्तकुमार बस्नेत, कोशी प्रदेशसभाका उपसभामुख सिर्जना दनुवार, उपप्रमुख महेश्वरी राईसहित जनप्रतिनिधि, विभिन्न दलका नेता, उद्योगी व्यवसायी, सामाजिक अभियन्ता, पत्रकार र नागरिक समाजका प्रतिनिधिहरुको सहभागिता रहेको थियो।
भेलामा एमालेका विश्वराज भट्टराई, नेपाली कांग्रेसका शर्मिला थापा, माओवादी केन्द्रका राधारमण खतिवडा, जसपाका ओसन घिमिरे, रास्वपाका उत्तम रिजाल, राप्रपाका स्थानीय नेतासहितका दलका प्रतिनिधिहरुले कुनै पनि हालतमा आपराधिक मनसायका साथ गरिएको तोडफोड, लुटपाट र आगजनी सह्य नहुने बताएका थिए।
त्यस्तै जिल्ला उद्योग वाणिज्य संघका अध्यक्ष गजेन्द्र भगत, त्रियुगा उद्योग वाणिज्य संघका अध्यक्ष नविन बस्नेत, सामाजिक अभियन्ता नजबुल खान, सुमन परियार, वडा १६ का अध्यक्ष मानबहादुर राई, पत्रकार सेनानी कौशल चेम्जोङ, पत्रकार महासंघका अध्यक्ष भक्तिविलास पोख्रेललगायतले पनि जेएनजी पुस्ताको जायज मागप्रति नैतिक समर्थन रहेको तर अराजक गतिविधिलाई भने स्वीकार्न नसकिने बताएका थिए।





