उर्मिला दनुवार, रेडियो उदयपुर, ३१ जेठ — दनुवार समुदायको साझा पर्व ‘न्वाङी’ लाई व्यवस्थित रूपमा मनाउने तथा यसको सांस्कृतिक संरक्षण गर्ने उद्देश्यसहित एकदिवसीय प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ । शुक्रबार, त्रियुगा नगरपालिका–८ स्थित बैरेनीको दनुवार भवनमा सम्पन्न भएको हो ।
कार्यक्रम दनुवार जागरण समिति त्रियुगा नगर कार्य समितिको आयोजना र त्रियुगा नगरपालिका–९ को सहकार्यमा संचालन गरिएको थियो ।
प्रशिक्षणमा दनुवार समुदायका अग्रज अनन्त दनुवार र राजकुमार दनुवारले सहजीकरण गर्नुभएको थियो । सहभागी प्रशिक्षार्थीहरूलाई चार समूहमा विभाजन गरी न्वाङी पर्वको महत्व, मनाउने विधि र परम्परा जोगाउने उपायहरूबारे समूहगत छलफल गरी सुझाव संकलन गरिएको थियो ।
कार्यक्रममा नेपाल दनुवार समाज उदयपुरका अध्यक्ष केदार दनुवारले आउँदो मंसिर २५ गते मनाइने न्वाङी पर्वलाई प्रभावकारी बनाउन प्रशिक्षणले योगदान पु¥याउने विश्वास व्यक्त गर्नुभयो । साथै, उहाँले न्वाङी पर्वलाई दीर्घकालीन योजना सहित राष्ट्रिय स्तरमा विस्तार गर्न आवश्यक रहेको बताउनुभयो ।
वडा नं. ९ का वडाध्यक्ष राजकुमार दनुवारले समुदायको मौलिक पहिचान जोगाउँदै संस्कृति र संस्कारको संरक्षण गर्न चुनौतीहरूसँग नडराई अघि बढ्नुपर्नेमा जोड दिनुभयो ।
त्यस्तै, दनुवार जागरण समितिका सचिव भरत दनुवारले न्वाङी पर्वसँगै समुदायको परम्परागत परिकार ‘अण्डी’ लाई पनि ब्राण्डिङ गर्नुपर्ने सुझाव दिनुभयो ।
दनुवार महिला सुधार संघका केन्द्रिय अध्यक्ष अर्चना दनुवारले आफ्नै संस्कार–संस्कृति छाडेर अन्यको अनुसरण गर्नाले समुदायको मौलिकता हराउने खतरा रहेको बताउँदै, यस्ता कार्यक्रमहरूले सांस्कृतिक चेतना जगाउने विश्वास व्यक्त गर्नुभयो ।
दनुवार जागरण समिति उदयपुरका अध्यक्ष कृष्णराज दनुवारले समुदायमा एकता नहुनु नै पछाडिएको प्रमुख कारण रहेको उल्लेख गर्दै, पहिचान र अधिकारका लागि सहकार्य र ऐक्यबद्धता आवश्यक रहेको धारणा राख्नुभयो ।
त्यस्तै, दनुवार जागरण समिति कोशी प्रदेशका अध्यक्ष गणेश दनुवारले आउँदो मंसिर २५ गते मनाइने न्वाङी पर्वलाई भव्य र सफल बनाउन सम्पूर्ण समुदायको सक्रिय सहभागिता अपरिहार्य रहेको बताउनुभयो । कार्यक्रम दनुवार जागरण समिति त्रियुगा नगर कार्य समितिका अध्यक्ष गुणराज दनुवारको अध्यक्षता तथा सचिव शिवकुमार दनुवारको सञ्चालनमा सम्पन्न भएको थियो ।
प्रशिक्षणमा स्थानीय बासिन्दा, दनुवार समुदायका अग्रज तथा विभिन्न टोल विकास संस्थाका प्रतिनिधिहरूको उल्लेखनीय उपस्थिति रहेको थियो ।