उदयपुर, जेठ १८ गते । महिला सशक्तिकरण स्रोत केन्द्र उदयपुरले युवा महिलाहरुको लागी ३ दिने महिलाबादी नेतृत्व विकास तालिम सम्पन्न गरेको छ । जेठ १५ गतेदेखि १७ गतेसम्म त्रियुगा नगरपालिका ९, ओरेक आधार तालिमकेन्द्रमा सञ्चालित तालिममा उदयपुर जिल्लाको ५ वटा पालिका साथै त्रियुगा नगरपालिकाका ३, ७, ८ र ९ नम्बर वडाका युवा महिला सञ्जालको ८२ जना युवा महिलाको सहभागिता रहेको थियो । पालिका र वडाको युवा महिलाहरुलाइ अलगअलग समुहमा विभाजन गरी २ वटा तालिम समानान्तर संन्चालन गरिएको हो ।
महिलावादी अवधारणाबाट नेतृत्व विकास गर्दै समुदायस्तरमा भएका परम्परागत हानिकारक अभ्यासविरुद्ध खबरदारी गर्दै पैरवी गर्न सक्ने गरी युवा महिलाहरुलाइ तयार गर्ने उदेश्यले तालिमको आयोजना गरीएको महिला सशक्तिकरण स्रोत केन्द्रका कार्यक्रम संयोजक सुजाता सुबेदीले जानकारी दिनुभयोे । जिल्लाको ८ वटै स्थानिय तहमा युवा महिला सन्जाल गठन गरी किशोरीहरुको नेतृत्व बिकास, यौन तथा प्रजनन स्वास्थ्य अधिकार, उमेर नपुगि गरिने विवाह अन्त्यको लागि संस्थाले बिभिन्न कार्यक्रम तथा अभियानहरु सन्चालन गर्दै आइरहेको छ । संस्थाले समुदायतहबाट किशोरीहरुको नेतृत्व विकास गर्दै उनीहरुको सशक्तिकरणमा सहयोग पु्र्याउने उद्देश्यले त्रियुगा नगरपालिका भित्रको ३,७,८ र ९ नं वडामा थप ४ वटा वडा स्तरीय युवा महिला सन्जाल गठन गरीएको हुंदा सन्जालको नयां सदस्यहरुको क्षमता अभिबृद्धि गर्नका लागि तालिम आयोजना गरीएको हो ।
तालिममा ओरेक नेपालका अध्यक्ष सविता पोखरेल, महिला सशक्तिकरण स्रोत केन्द्रका कार्यकारी निर्देशक बन्दना दनुवार र ओरेक नेपालका कार्यकारी निर्देशक सुनिता मैनालीले सहजिकरण गर्नुभएको थियो । तालिममा महिलावाद, लिंग र लैंगिकता, पितृसतात्मक सामाजिक संरचना, नेतृत्व, पैरवी साथै स्थानिय तहमा योजना माग प्रक्रिया र युवा महिलाहरुको सहभागिताको विषयमा छलफल तथा प्रशिक्षण गरीएको थियो ।
तालिमको अन्तिम दिन सहभागिहरुले आ आफ्नो वडा तथा पालिकासंगको सहकार्यमा सन्चालन गर्न सक्ने कार्यक्रमहरुको बारेमा छलफल गर्दै योजना तयार गरेका थिए । योजनामा बालविवाह विरुद्ध सचेतना कार्यक्रम, अभिभावकसँग लैंगिक समानता विषयक छलफल, सडक नाटक, र समुदायस्तरको छलफल जस्ता कार्यक्रम समावेश गरेका थिए । कार्यक्रमको अन्त्यमा सहभागीहरूले तालिमबाट प्राप्त ज्ञान, सीप, र अनुभव साझा गर्दै, समाज रुपान्तरणको लागि अभियान सन्चालन गर्न प्रतिवद्ध रहेको बताएका थिए ।