उदयपुर । नेपाली महिलाहरुको महान पर्व तिजको अवसरमा लैङ्गिक हिंसा निवारण कोष कार्यन्वयनको बिषयमा छलफल तथा अन्तरक्रिया गरिएको छ ।
आईतवार ओरेक नेपाल, तरङ्गीनी फाउण्डेसन र महिला सशक्तिकरण स्रोत केन्द्र उदयपुरको संयुक्त आयोजनामा अन्तरक्रिया तथा समुदाय संग भेटघाट गरिएको हो ।
कार्यक्रम स्थलमा लैङ्गिक हिंसा न्युनिकरणको बिषयमा समुदायको सवाल,जिज्ञासा राख्नको लागि सुझाव पेटिका राखिएको थियो । ओरेक उदयपुरका जिल्ला संयोजक बाला कार्कीका अनुसार सुझाव पेटिकामा लैङ्गिक हिंसा निवारण कोषको प्रभावकारी कार्यान्वयन हुनुपर्ने, कोषमा प्रयाप्त बजेट बिनियोजन गरियोस् र सबैको पहुँच पुग्ने हुनुपर्ने , कार्यबिधीको कारण कतिपय अति आवस्यक सहयोग पाउनुपर्ने ब्यक्तिले सेवा नपाएको ,कतिपय बालबालिकाहरुको जन्मदर्ता, अभिभावक नभएको कारण अध्ययन गर्न नपाएको अबस्था छ पालिका भित्रका बालबालिकाहरुलाई निशुल्क अध्यन गर्ने ब्यबस्थापन गरियोस् जस्ता सुझावहरु संकलन भएको बताएका छन् ।
कार्यक्रममा त्रियुगा नगरपालिकाका उप प्रमुख महेश्वरी राईले लैङ्गिक हिंसा निवारण कोषले नगरपालिका भित्र हुने लैङ्गिक हिंसा न्युनिकरण संगै समस्यामा परेका ब्यक्तिहरुलाई व्यवस्थापनमा सहयोग गरिरहेको बताउनुभयो । साथै उहाँले गुनासो पेटिका मार्फत आएको सुझावहरुलाई बैठक,परामर्श मार्फत छलफल गरि जिज्ञासाहरुको सम्बोदन गर्ने जनाउनुभयो ।
समुदायका महिलाहरुको प्रत्यक्ष सहभागि रहेको कार्यक्रममा तिजको अवसरमा दर खाने र नाच गानको समेत कार्यक्रम समेत आयोजना गरिएको थियो । त्रियुगा नगरपालिका वडा नम्वर ९ राजावासमा रहेको ओरेक नेपालमा कार्यक्रम संचालन भएको थियो ।