Menu

कुनै पनि महिला एवम् बालबालिकालाई लैंगिक हिंसा भएमा अबदेखि ११४५ मा खबर गर्न सकिनेछ । राष्ट्रिय महिला आयोगले विश्व बैंकको सहयोगमा लैगिक हिंसा न्युनिकरणका लागि यो सेवा सञ्चालन गर्न लागेको हो । अभियानको गत मंगलबार परिक्षण समेत गरिएको छ । राष्ट्रिय महिला आयोगका सचिव तुलसीराम सेढाइले ११४५ मा फोन डायल गरेर परिक्षण गरेका हुन् । उनले समाजमा लैंगिक हिंसा बढ्दो रहेको भन्दै यसबाट प्रभावित महिलालाई राहत मिल्ने बताए । उनले भने, ‘हामीले यो काठमाडौं, ललितपुर, भक्तपुर र नुवाकोट गरी चार जिल्लामा सर्वेक्षणको रुपमा गर्नेछौ । सफल भएमा देशभरि नै लागू हुनेछ ।’ उनले यी चार जिल्लामा लागूभएपनि देशभरिको फोन कलहरूलाई स्वागत गरिने बताए । महिला तथा समाजकल्याण मन्त्रालयकी सहसचिव राधिका अर्यालले उक्त अभियानलाई प्रभावकारी रुपमा सञ्चालन गर्न आग्रह गर्दै हिंसा प्रभावित महिलाले राहत मिल्ने वातावरण बनाउन बुझाव दिइन् । केन्द्रीय बालकल्याण समितिका कार्यकारी निर्देशक तारक धितालले प्रभावितलाई कसरी सजिलो तरिकाले न्याय दिन सकिन्छ भन्नेमा ध्यान दिन आग्रह गरे ।

वल्र्ड बैंककी प्रतिनिधि कारोलेनी सागेले यो अभियानले सामाजमा हुने महिलामाथिको हिंसा कम हुने अपेक्षा गरिन् । परियोजनाका संयोजक पलिता थापाले यो अभियानले हिंसा प्रभावित महिलाका समस्या समाधान मात्र नभई हिंसा कसरी रोक्न सकिन्छ भन्नेमा समेत ध्यान दिने बताइन् । हिंसामा परेमा जुनसुकै फोनबाट, जहाँबाट पनि ११४५ मा निशुल्क उजुरी गर्न सकिनेछ । यो अभियान आउँदो डिसेम्बरबाट सुरु हुनेछ । आफू हिंसामा परेमा २४ सै घण्टा हप्ताको सातै दिन उपलव्ध हुनेछ । हिंसामा परेमा एसएमएस बाट पनि खबर गर्न सकिनेछ । अथवा वेबसाइट www.nwchelpline.gor.np मा वा फेसबुक पेजमापनि सम्पर्क गर्न सकिन्छ ।

हिंसामा परेमा प्रभावित स्वयंले, प्रभावितका आफन्त वा साथीले, हिंसाका घटना घटेको देख्ने वा सुन्ने व्यक्तिले, हिंसाका घटना घट्न सक्छ भनेर थाहा पाउने व्यक्ति, लैंगिक हिंसा न्यूनीकरण तथा रोकथाम सम्बन्धी काम गर्ने संघ–संस्थाहरूले, अन्य जुनसुकै व्यक्तिहरूले पनि खबर गर्न सक्नेछन् । अभियानका क्रममा हिंसामा अति प्रभावितका लागि सुरक्षित वा, कानूनी उपचार तथा परामर्श सेवा, १८ वर्ष मुनिका प्रभावितलाई विशेष सेवा, मनोसामाजिक परामर्श सेवा, आधारभूत स्वास्थ्य सेवा उपलव्ध गराइनेछ ।

महिला खबर