Menu

 मंसिर ११, उदयपुर 

मंसिर २१ गते हुने दोश्रो चरणको निर्वाचनका लागि जिल्ला निर्वाचन कार्यालय उदयपुरले तयारीलाई तिव्रता दिएको छ । निर्वाचनलाई भरपर्दो र विश्वसनिय बनाई सफलता पुर्वक सम्पन्न गर्न निर्वाचन कार्यालयले आईतबार देखि मतदान स्थलमा खटिने मतदान अधिकृत र सहायक मतदान अधिकृतहरुलाई मतदान तथा मतगणना सम्बन्धी प्रशिक्षण गराएको हो । तालिममा जनतालाई सहजरुपले कसरी मतदान प्रकृयामा सहभागि गराउने, मतदान प्रकृया कसरी गर्ने, नीति नियमहरुलाई कसरी व्यवहारमा उतार्ने, भयरहित वातावरणमा कसरी निर्वाचन सम्पन्न गर्ने, मतगणना प्रकृयामा कसरी सावधानि अपनाउन लगायतका बिषयमा प्रशिक्षण दिईएको जिल्ला निर्वाचन अधिकारी एकबहादुर बस्नेतले जानकारी दिनुभएको छ । वहाले विगतमा भएका कमिकमजोरीलाई समेत शिक्षाकोरुपमा लिई निर्वाचनलाई भरपर्दो र सहज बनाउन कर्मचारीहरुलाई तालिम दिएको बताउनु भएको छ । तीन चरणमा दिईने तालिममा पहिलोचरणमा मतदान अधिकृत र सहायक मतदान अधिकृत गरी १ सय ६५ जनाको सहभागिता रहेको छ । दुई दिनसम्म सञ्चालन हुने तालिमको सहजिकरण प्रमुख निर्वाचन अधिकृत तेजेन्द्रप्रसाद सापकोटा, प्रमुख जिल्ला अधिकारी चन्द्रमान श्रेष्ठ, प्रमुख कोष नियन्त्रण हिराकुमार न्यौपाने, एसपी नवराज भट्ट, त्रियुगा नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत तारानाथ लुईटेल, २ नम्बर निर्वाचन क्षेत्रका अधिकृत सन्देश श्रेष्ठ, जिल्ला शिक्षा कार्यालयका उपसचिब रामेश्वर कुवँर, विद्यालय निरीक्षक धर्मानन्द खतिवडाले गर्ने जनाईएको छ । पहिलोचरण सकिए लगत्तै १२ र १३ गते साथै तेस्रोचरणको १४ र १५ गतेको तयारी गरिएको निर्वाचन अधिकारी बस्नेतले जानकारी दिनु भयो । जिल्लाभर २ सय ३३ जना मतदान अधिकृत र सोही संख्यामा सहायक मतदान अधिकृत खटने गरी तयारी गरिएको छ । तालिमको उदघाटन गर्दै प्रमुख निर्वाचन अधिकृत सापकोटाले निर्वाचनलाई भरपर्दो र विश्वसनिय बनाउने भुमिका मतदान अधिकृत र सहायक मतदान अधिकृतकै भएकाले आफ्नो जिम्वेवारीलाई कुशलतापुर्वक निभाउन आग्रह गर्नु भएको छ । एसपी नवराज भट्टले शान्ति सुरक्षा मजवुद भएकाले निर्धक्क भएर मतदान गर्न सबैलाई आग्रह गरेका छन् ।