Menu

काठमाडौं, चैत १४ – ५५ औं विश्व रंगमञ्च दिवसको अवसर पारेर मध्यकाल र मल्लकालका नेवारी र मैथली नाटकबारे बहस गरिएको छ नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानले सांस्कृतिक संस्थानको सहकार्यमा सोमबार नाचघर जमलमा आयोजना गरेको कार्यक्रममा अनुसन्धानकर्ता प्रा.डा. रामअबतार चौधरीले मध्यकालिन एवं मल्लकालिन नेवारी, मैथिली र बँगाली नाटकबारे कार्यपत्र प्रस्तुत गरे ।
उनले तीन ओटा प्रकृत भाषामा नाटक, तीन सयओटा भन्दा बढी मैथिली नाटक, चार ओटा नेवारी भाषाको नाटक र त्यत्तिकै मात्रामा बँगाली भाषाका नाटकको अभिलेख मध्य र मल्लकालमा लेखिएको अहिले पनि सुरक्षित रहेको बताए ।


कार्यक्रममा मध्यपुर ठिमीका कलाकारहरुले त्यहाँ चार सय वर्ष भन्दा अघि देखि प्रचलनमा रहेका इन्द्र अस्परा नृत्य र भष्मासुर नाच प्रस्तुत गरे । सो नाचले कार्यक्रमको रौनकता बढाएको थियो ।

– कार्यक्रममा अग्रज संस्कृतिविद् सत्यमोहन जोशीले राणाकालपछि नेवारी भाषाको नाटक लोप भएको अबस्थामा आफुहरुले संरक्षण गरेको जानकारी गराए ।
– नाट्यकर्मी प्रचण्ड मल्लले मल्लकालको मञ्च र प्रस्तुतिको बारेमा चर्चा गर्दै त्यतिबेला त्रिकोण आकारको मञ्चमा नाटक देखाईने गरेको बताए  |
– संस्कृतिविद् तेजेश्वरबाबु ग्वाँङले काठमाडौं उपत्यकाका नेवारी नाचहरु शँकटमा रहेको अहिलेको आधुनिक प्रयोगले नेवारी नाटकहरु छायाँमा परेको बारे कार्यपत्र प्रस्तुत गरे ।
–प्रा. डा. सावित्री मल्लले काठमाडौंका नेवारमा बाजे र बुबा पुस्ताले अझै नेवारी बोले पनि नाति पुस्ताले बोल्न छाडेकाले नयाँ पुस्ताले नेवारी भाषा बुझ्न छाडेको र नेवारी भाषामा मञ्चिन नाटक सोही कारण उनीहरुले हेर्न छाडेको बताईन् ।
– नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका कुलपति भक्त श्रेष्ठ (सरुभक्त)ले विभिन्न संघ संस्थासँग सहकार्य गरेर राजधानी र मोफसलमा प्रतिष्ठानले नाच, नाट्य, संगीत सम्बन्धि कार्यक्रम गर्दै आएको बताए
– सांस्कृतिक संस्थानका महाप्रबन्धक राजेश थापाले संस्थान र प्रतिष्ठानको उदेश्य एउटै भएकाले नाट्य विकाश र विस्तारका लागि संयुक्त गोष्ठी आयोजना गरिएको बताए ।