आईसोलेसन केन्द्र स्थापना गर्न प्रदेश सरकारको १५ लाख सहयोग

0
325

उदयपुर । कोभिड–१९ का विरामीको उपचारका लागि उदयपुरको मदन भण्डारी आँखा अस्पताल गाईघाटमा आईसोलेसन सेवा सञ्चालन गरिने भएको छ ।

प्रदेश १ का विभिन्न जिल्लामा कोभिड–१९ का संक्रमणले महामारीकै रुप लिन थालेपछि सोमबार प्रदेश सरकारले स्थानीय स्तरमा नै विरामी राखेर उपचार गर्ने गरी उक्त निर्णय गरेको हो ।

सरकारले आइसोलेसन सेवा विस्तारका लागि १५ लाख रुपैँया उपलब्ध गराउने निर्णय गरेको मुख्यमन्त्रीका प्रेस सल्लाहकार धुर्व सुवेदीले जानकारी दिए । उनले भने, ‘विराटनगर, धरानका कोभिड अस्पतालमा विरामीको चाँप बढ्दै गएकाले उदयपुरका विरामी तत्काल व्यवस्थापन गर्न यस्तो निर्णय लिइएको हो । ‘लक्षण देखा नपरेका विरामी पनि यता ल्याउँदा उपचारमा सकस भयो, उनले भने, ‘त्यस्ता लक्षण देखानपरेका संक्रमितलाई अव चिकित्सककै निगरानीमा आईसोलेसनमा राखिने छ ।

निर्णय भएको रकम तत्काल स्थानीय तहको खातामा जम्मा गरिने उनले बताए । सल्लाहकार सुवेदीले आईसोलेसन सञ्चालनमा लाग्ने अन्य आर्थिक व्यवस्थापन सबैको जिम्मा स्थानीय तह वा अन्य निकायबाट गर्ने गरी निर्णय भएको उनले बताए ।

गत चैत्र ५ गते त्रियुगा नगरपालिका ३ भुल्केमा एकैपटक १२ जनालाई कोरोना पोजेटिभ देखिएपछि अस्पताल सञ्चालनको जिम्मा पाएको नेपाल नेत्रज्योती संघ उदयपुरले चैत्र १२ गते अस्पताललाई कोभिड अस्पतालमा परिणत गर्न सक्ने निर्णय गर्दै मुख्यमन्त्रीलाई भवन सुम्पेको थियो ।

नेत्रज्योती संघको निर्णयसँगै स्वास्थ्य तथा जनसंख्या मन्त्रालय सिंहदरवार काठमाण्डौँले ०७७ असार २९ गते आँखा अस्पताललाई आईसोलेसन सेन्टरमा परिणत गर्ने र तत्काल तीस वेड उपलब्ध गराउने गरी निर्णय भएको नेत्रज्योती संघका सभापति भागवत राउतले जानकारी दिए ।

सोही निर्णयअनुसार स्वास्थ्य सेवा विभागको व्यवस्थापन महाशाखाले तीस वेड उपलब्ध गराएसँगै जिल्ला प्रशासन कार्यालय उदयपुर र जिल्ला अस्पताल सञ्चालन तथा व्यवस्थापन समितिलेसमेत भदौ ४ गते मुख्यमन्त्रीलाई आँखा अस्पतालको भवन निर्माण भैसकेको तर सञ्चालनमा आईनसकेकाले तत्कालका लागि आईसोलेसन केन्द्र स्थापनाका लागि उपयुक्त भएको जानकारी गराएको थियो ।

प्रदेश सरकारले जिल्ला अस्पताललाई दश वेडको आईसोलेसन केन्द्र स्थापना गर्न परिपत्र गरेपछि अस्पताल व्यवस्थापन समितिले अन्य सेवा सञ्चालनमा बाधा पुग्ने भन्दै आँखा अस्पतालमा आईसोलेसन सेवा सञ्चालनका लागि सिफारिस गरेको सभापति राउतले बताए ।
४२ कोठा रहेको तीन तलाको भवनमा ६० वटासम्म वेड राख्न सकिने राउतले बताए । भवनमा १६ वटा शौचालय र ५ वटा युरिन रहेका छन् । जिल्लामा हालसम्म एक सय ११ जनामा कोरोना भाईरसको संक्रमण देखापरेको छ । बेल्टारस्थित कोरोना उपचार केन्द्र २६ वेडको मात्र भएकाले विकल्प नहुँदा विरामी राख्न कठिन भएको स्वास्थ्य कार्यालय प्रमुख मोहन सुवेदीले बताए ।