उदयपुर, असार ६ — उदयपुरको उदयपुरगढी गाउँपालिका–७ जोगीटोलमा स्कुलको कर्मचारी बोकेको बस दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने ३० जना घाइते भएका छन्। शनिबार बिहान करिब ८ः५० बजे महोत्तरीबाट सुनसरीतर्फ जाँदै गरेको दीप एजुकेशन बोर्डिङ स्कुलको बा २ ख ६४३८ नम्बरको बस अनियन्त्रित भई सडकबाट करिब १२ मिटर तल खसेर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ। दुर्घटनाको जानकारी प्राप्त हुनासाथ अस्थायी प्रहरी पोष्ट संगमचोकबाट खटिएको प्रहरी टोलीले घाइतेहरूको उद्धार गरी जिल्ला अस्पताल उदयपुर पठाएको थियो। उपचारका क्रममा बर्दिबास नगरपालिका निवासी ५५ वर्षीय विमलेश दत्तको बिहान ९ः५० बजे मृत्यु भएको प्रहरीले जनाएको छ। दुर्घटनामा गम्भीर घाइते महोत्तरीको गौशाला नगरपालिका–२ निवासी ३८ वर्षीया रसिला कुमारी चौधरी र उनका १२ वर्षीय छोरा सन्देश कुमार चौधरीलाई थप उपचारका लागि विराटनगरस्थित न्यूरो अस्पताल रिफर गरिएको छ। भने अन्य २८ जना घाइतेहरूको जिल्ला अस्पताल उदयपुरमा उपचार भइरहेको प्रहरीले जनाएको छ। घाइतेहरू महोत्तरी र सिराहा जिल्लाका विभिन्न स्थानका रहेका छन्। बस चालक महोत्तरीको गौशाला नगरपालिका–१० निवासी २८ वर्षीय जीवन आले सकुशल रहेको र प्रहरी नियन्त्रणमा रहेको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ। दुर्घटनाको कारण खुल्न नसकेको र घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
उदयपुरगढीमा स्कुलको कर्मचारी बोकेको बस दुर्घटना, एकको मृत्यु
RELATED ARTICLES


