रेडियो उदयपुर, पुस २९ गते मंगलबार । उदयपुरको बेलका नगरपालिका–२ को विभिन्न स्थानमा जङ्गलबाट आएका जंगली हात्तीको आक्रमणबाट एक हप्ताको अवधिमा करिब ८ लाख ६ हजार ५ सय रुपैयाँ बराबरको क्षति भएको छ। जिल्ला प्रहरी कार्यलय उदयपुरका अनुसार यहि पुस २२ गतेदेखि २८ गतेसम्म जंगली हात्तीले स्थानीयवासीका कच्ची घर, भान्साघर, कृषि फार्म तथा खेतबारीमा क्षति पु¥याएका छन् ।
त्यसैगरी सोहि वडाको गिध्देरीटोलकी ७७ वर्षिया बृद्धा फुलमाया तामाङलाई राती सुतिरहेको बेला हात्तीको सुडले तानेर फाल्दा घाइते भएकी हुन् । उनी बेलका नगर अस्पतालमा उपचारपछि घर फर्केकी छिन् । छोरी संगिता तामाङसंगै बस्तै आएकी उनलाई हात्तीले घर भत्काएर सुती रहेको कोठाबाट बाहिर फालेको थियो । घर भत्किदा छोरी संगिता तामाङको १० हजार बराबरको क्षती भएको छ ।
जिल्ला प्रहरी कार्यालय उदयपुरले दिएको जानकारी अनुसार स्थानीय गेतुकुमार राईको कृषि तथा पशुफर्म तथा खेतबारीको बालीमा ५० हजार बराबरको क्षती पुर्याएको छ । जयरानी लिम्बुको कच्चीघर भत्काइ अन्नपात र युरियामल १ बोरासमेत खाइदिँदा ५० हजार बराबरको क्षती भएको छ । सोमबहादुर लिम्बुको कच्चीघर भत्काउदा १० हजार बराबरको क्षती भएको छ ।
सुस्मिता लिम्बुको घरभित्र राखेको धान खाइदिनुका साथै सागबारी र केराबारी क्षती गर्दा १५ हजार बराबरको क्षती भएको छ । पदम राईको एकतले फुसको छानो भएको घर भत्काएर अन्नपात खाइदिँदा २५ हजार बराबरको क्षती पुगेको छ । मनोज सदाको कच्चीघर भत्काई अन्नपात खाइदिदा उनको पनि २५ हजार बराबरको क्षती भएको छ भने देवनारायण चौधरीको कच्चीघर भत्काई, अन्नपात खाइदिँदा एकलाख बराबरको क्षती पुर्याएको छ ।
त्यस्तै कुमार थापाको गाईफर्म, कच्चीघर भत्काई अन्नपात खाइदिदा दुई लाख बराबरको क्षती भएको छ । सार्कीमान वि.क.को कच्ची घर भत्काएर १२ हजार बराबरको क्षती पुर्याएको छ भने भुवन राईको भान्सा घर भत्काएर अन्नपात खाइदिदा १५ हजार बराबरको क्षती भएको छ । स्थानीय ज्ञानबहादुर बस्नेत, मुना पराजुलीको बालीनाली क्षती पुर्याएको छ ।बानडाँडा स्थित सप्तकोशी सामुदायिक वन बहुसांस्कृतिक साकेलापार्कमा घेराबेरा गरेको तारजाली भत्काइ क्षती पर्याउदा एकलाख बराबरको क्षती भएको छ भने स्थानीय राजेश यादवको खेतमा लगाएको आलुखेती नष्ट पार्दा एकलाख ५० हजार बराबरको क्षती भएको छ । घटनापछि नेपाल प्रहरी, स्थानीयवासी र जनप्रतिनिधिको सहयोगमा जंगली हात्तीलाई जङ्गलतर्फ लखेटिएको जनाइएको छ।





