दनुवार समुदायको न्वाङ्गी (नेमान) पर्व उदयपुरमा भव्य रूपमा मनाइयो

0
49

रेडियो उदयपुर –  दनुवार समुदायले आफ्नो जातीय पर्व न्वाङ्गी (नेमान) बिहीबार भव्य रूपमा मनाएका छन् । पर्वको अवसरमा उदयपुरको त्रियुगा नगरपालिका – ८, बैरेनीचौरमा तीनदिने दोस्रो दनुवारी खाना परिकार तथा सांस्कृतिक उत्सव समेत सुरु गरिएको छ। कार्यक्रम स्थलमा विभिन्न स्थानका दनुवारी परम्परागत खानाका परिकार चिचौरी,बगिया,घोगी,माछा,गगँटा, माछाको पुसुन,केराको अचार,बर्मिको अचार,पिनाको अचार टोटेलाको अचार, लोकल कुखुरा र परेवा का परिकार्हरु, सेलरोटी,अण्डिको निगार लगायतका परिकारसँगै दनुवारी समुदायका परम्परागत पहिरन र गरगहना प्रदर्शनी तथा बिक्रीका लागि राखिएका छ । त्यसैगरी कार्यक्रममा दनुवारी जातीय झाँकी, सांस्कृतिक नृत्य तथा गायन प्रस्तुति समेत रहेको छ । कार्यक्रमको उद्घाटन कोशी प्रदेशकी माननीय उपसभामुख सिर्जना दनुवारले गर्नुभयो। उहाँले न्वाङ्गी पर्व दनुवार समुदायको पहिचान,संस्कार र उत्पादनसँग गहिरोसँग जोडिएको मौलिक पर्व भएकाले यसलाई राज्यस्तरबाट संरक्षण र प्रवद्र्धन गर्न आवश्यक रहेको बताउनुभयो। उहाँका अनुसार न्वाङ्गी पर्वले स्थानीयदेखि राष्ट्रिय तहसम्म समुदायको सांस्कृतिक उत्थानमा महत्वपूर्ण योगदान पु¥याउने विश्वास व्यक्त गर्दै दनुवार समुदायको भाषिक, सांस्कृतिक र परम्परागत धरोहर जोगाउँदै नयाँ पुस्तामा हस्तान्तरण गर्न पनि यो पर्व प्रभावकारी माध्यम बन्न सक्ने उल्लेख गर्नुभयो। त्यसैले समुदायको पहिचान संरक्षण र संवद्र्धनमा सबै पक्षको सहकार्य अपरिहार्य रहेको उपसभामुख दनुवारले बताउनुभयो।
त्यसैगरी त्रियुगा नगरपालिका–९ का वडाध्यक्ष राजकुमार दनुवारले दनुवार समुदायमा नयाँ धानबाली घरमा भित्र्याएसँगै न्वाङ्गी पूजा गर्ने परम्परा रहेको जानकारी दिनुभयो। नयाँ चामललाई गुलियो तथा मसलेदार परिकारसँग मिसाएर आफ्नो कुलदेवतालाई अर्पण गर्ने र त्यसपछि प्रसादीको रूपमा ग्रहण गर्ने चलन रहेको बताउनु भयो ।

बिहिबार बिहान सामूहिक न्वाङ्गी पूजा सम्पन्न गरी दिउँसो मोटरसाइकल ¥याली निकालिएको थियो। बैरेनीचौरबाट सुरु भएको ¥याली गैरुन, गाईघाट, बोक्से, असारी, मोतिगडा, जलजले, धरमपुर, राजाबास हुँदै पुनः बैरेनीचौरमै आएर समापन गरिएको थियो। न्वाङ्गी पर्वको अवसरमा त्रियुगा नगरपालिका र कटारी नगरपालिकाले स्थानीय विदा पनि प्रदान गरेका छन्। दनुवार जागरण समिति, त्रियुगा नगर समिति तथा उत्सव मूल आयोजक समितिको संयुक्त आयोजनामा भइरहेको महोत्सव मंसिर २७ गते शनिबारसम्म सञ्चालन हुने मूल आयोजक समितिका संयोजक गुरुदेव दनुवारले जानकारी दिनुभयो।