रेडियो उदयपुर – उदयपुरमा राष्ट्रिय न्वाङ्गी (नेमान) पर्व र दोस्रो दनुवारी खाना परिकार तथा सांस्कृतिक उत्सव तीन दिनसम्म भव्यरूपमा आयोजना हुने भएको छ। दनुवार जागरण समिति, त्रियुगा नगर समिति तथा उत्सव मूल आयोजक समितिको संयुक्त आयोजनामा मंसिर २५ देखि २७ गतेसम्म त्रियुगा नगरपालिका–८ स्थित बैरेनीचौरमा कार्यक्रम सञ्चालन हुने मूल आयोजक समितिका संयोजक गुरुदेब दनुवारले जानकारी दिनु भयो । उत्सवको पहिलो दिन अर्थात् मंसिर २५ गते दनुवार समुदायको मुख्य पर्व न्वाङ्गीलाई राष्ट्रिय स्तरमा आधिकारिक कार्यक्रम मार्फत सार्वजनिक गर्दै सामूहिक न्वाङ्गी पूजा गरिनेछ। यस अवसरमा त्रियुगा नगरपालिकाले समेत स्थानीय विदा दिने निर्णय गरेको छ ।
उत्सवको दोस्रो र तेस्रो दिन महिला सशक्तीकरण स्रोत केन्द्र उदयपुरद्वारा नगर स्तरिय खुला सांस्कृतिक नृत्य प्रतियोगिता, ,राष्टिय तथा स्थानिय कलाकारहरुको विशेष प्रस्तुति , बृहत सांस्कृतिक मोटरसाइकल र्याली, ओपन–फेस्ट भिलेज वातावरण,जातिय झाकिप्रदर्शन,दनुवारी खाना परिकार प्रदर्शन हुने आयोजक समितिले जनाएको छ । दनुवार समुदायको कला, संस्कृति, पहिरन, नृत्य र खानालाई राष्ट्रिय पहिचानमा प्रवद्र्धन गर्ने लक्ष्यसहित आयोजना गरिएको यस उत्सवलाई नेपालको सांस्कृतिक विविधता, सामुदायिक सहअस्तित्व, एकता र पहिचानको प्रतीकका रूपमा सफल बनाउन आयोजक समितिले प्रतिबद्धता व्यक्त गरेको छ। न्वाङ्गी पर्वलाई दनुवार समुदायले नयाँ अन्न अर्पण, पूर्वजप्रति सम्मान, धर्म, संस्कृति र कृषि परम्पराको पवित्र प्रतीकको रूपमा मान्ने गर्दछन । यो पर्वले दनुवार समुदायको पुराना चलन–रीति बचाउने र नयाँ पुस्तालाई सिकाउने एउटा महत्त्वपूर्ण परम्पराको रुपमा लिईएको छ ।





