Tuesday, July 21, 2026
Homeकोशी प्रदेशप्रभातफेरी कार्यक्रमसंगै लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियान शुरू

प्रभातफेरी कार्यक्रमसंगै लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियान शुरू

रेडियो उदयपुर, मंसिर ९ गते सोमबार । उदयपुरमा ‘लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान’ औपचारिक रूपमा सुरु गरिएको छ। हरेक वर्षझैँ अन्तर्राष्ट्रिय महिला हिंसा अन्त्य दिवस (नोभेम्बर २५) को अवसर पारेर मनाइने यो अभियान यस वर्ष पनि विभिन्न कार्यक्रमसहित सुरु गरिएको हो। यस वर्षको अन्तर्राष्ट्रिय नारा — ‘सबै महिला र बालिकामाथि हुने डिजिटल हिंसाको अन्त्य गरौंँ’ र राष्ट्रिय नारा —‘प्रविधिको सही प्रयोग गरौँ, लैङ्गिक हिंसा अन्त्य गरौँ’ , साथै स्थानीय तहमा ‘व्यवस्था मात्र होइन, सोचमा गरौँ सुधार ः युवा÷महिला नेतृत्व नै हो सामाजिक रुपान्तरणको आधार’ भन्ने नारासहित अभियान अघि बढाइएको छ। त्रियुगा नगरपालिका, जिल्ला प्रहरी कार्यालय उदयपुर, ओरेक उदयपुर, महिला मानव अधिकार रक्षक सञ्जाल, दलित महिला सङ्घ, महिला सशक्तीकरण स्रोत केन्द्र लगायत सरकारी तथा गैरसरकारी संस्थाहरूको सहकार्यमा आज बिहान प्रभातफेरी कार्यक्रम गरिएको थियो। सहभागीहरूले गाईघाट बजार परिक्रमा गर्दै लैङ्गिक हिंसा अन्त्यका नारासहित पर्चा र पम्पलेट बोकेर बजार परिक्रमा गरिएको थियो ।
कार्यक्रममा बोल्दै कोशी प्रदेशका उपसभामुख सृजना दनुवारले अभियान वर्षौँदेखि मनाइँदै आए पनि महिला हिंसाका घटना अझै उच्च रहेको बताउनुभयो। उहाँले भन्नुभयो, “नीति बनाएर मात्र हुँदैन, प्रभावकारी कार्ययोजना र नियमित कार्यक्रम आवश्यक छन्। स्थानीय सरकार तथा सरोकारवाला संस्थाहरूले कानुन कार्यान्वयनमा सक्रिय भूमिका खेल्नुपर्छ।” त्यसैगरी, त्रियुगा नगरपालिकाका उपप्रमुख महेश्री राईले महिला हिंसा अन्त्यका लागि कानुनी व्यवस्था मात्र पर्याप्त नहुने बताउँदै पितृसत्तात्मक सोच, सामाजिक मान्यता र व्यवहारिक परिवर्तनमा जोड दिनुभयो। ओरेक उदयपुरका संयोजक बाला कार्कीले सबै प्रकारका संरचनात्मक विभेदको अन्त्य गर्दै समानतामूलक समाज निर्माणका लागि स्थानीय तहदेखि राष्ट्रिय तहसम्म संगठित रुपमा पैरवी गर्न आवश्यक रहेको बताउनुभयो।
अभियान अवधिभर उदयपुरमा सचेतनामूलक कार्यक्रम, छलफल, अन्तरक्रिया, अभिमुखीकरण तथा डिजिटल सुरक्षासम्बन्धी क्रियाकलाप सञ्चालन गरिने भएको छ । नोभेम्बर २५–महिला हिंसा विरुद्धको अन्तराष्ट्रिय दिवस र डिसेम्बर १०–अन्तराष्ट्रिय मानवअधिकार दिवस, सम्मको १६ दिनलाई लैंगिक हिंसा विरुद्धको १६ दिने अभियानको रुपमा मनाउदै आएको छ । 

 

radioudayapur
ग्रामिण महिलाको नेतृत्वमा संचालित सामुदायिक रेडियो उदयपुर
RELATED ARTICLES
- Advertisment -
Google search engine

Most Popular