रेडियो उदयपुर, १९ जेठ — उदयपुरमा सञ्चारकर्मीहरूलाई लक्षित गर्दै ‘अन्तर विविधता रिपोर्टिङ’ सम्बन्धी एक दिने तालिम तथा छलफल कार्यक्रम सम्पन्न भएको छ।
कार्यक्रम महिला सशक्तिकरण स्रोत केन्द्र, उदयपुर र फोनिज उदयपुरको आयोजनामा, तथा नेपाल पत्रकार महासंघ,उदयपुर शाखाको समन्वयमा सोमबार, त्रियुगा नगरपालिका–९, राजावासस्थित ओरेक नेपालको सभाहलमा सम्पन्न भएको हो ।
कार्यक्रममा ओरेक नेपालका कार्यकारी निर्देशक सुनिता मैनालीले महिलाका मुद्दाहरुलाई गहिरिएर अनुसन्धान गरेर, केस स्टोरीको शैलीमा लेख्दा मात्र त्यसले समाजमा प्रभाव पार्ने सकिने बताउनु भयो । उहाले अन्तर विविधता रिपोर्टिङ भनेको केवल समाचार लेख्ने कुरा मात्र नभई त्यो पीडितको न्यायको बाटो पनि भएको बताउनु भयो ।
त्यसैगरि महिला सशक्तिकरण स्रोत केन्द्रका कार्यकारी निर्देशक बन्दना दनुवारले पत्रकारितामा विविधता समेट्नका लागि के–कस्ता पक्षहरूमा ध्यान दिनुपर्छ भन्ने विषयमा प्रस्ट पार्नु भएको थियो । उहाँले पत्रकारितामा विविध बिषयहरु समेट्दा संवेदनशीलता र गहिरो दृष्टिकोण आवश्यक हुने पनि बताउनुभयो ।
कार्यक्रममा सहभागी पत्रकारहरूले विविध बिषयहरुमा काम गर्दा र त्यसलाई समेट्दा अपनाउनुपर्ने दृष्टिकोण, सीप र तरिकाबारे अनुभव साटेका थिए ।