उदयपुर, जेठ १६ — महिला सशक्तिकरण स्रोत केन्द्र(WERC) द्वारा सञ्चालित सामुदायिक रेडियो उदयपुर १०२.४ मेगाहर्ज आज १७ औं वर्षमा प्रवेश गरेको छ ।२०६६ साल जेठ १६ गतेरेडियो उदयपुरको औपचारिक प्रशासरण सुरु भएको थियो । महिलाका ज्ञान, सीप र अनुभवहरु महिला कै अगुवाईमा समुदायमा पुर्याउने यसका लागि युवा पुस्ताको क्षमता अभिबृद्विगर्दै अन्तरपुस्ता नेतृत्व विकासगर्ने र समुदाय देखि नै महिलाको सूचनामा पहुँच अभिबृद्विगर्ने उद्देश्यको साथ यस रेडियोको परिकल्पना महिला मानब अधिकार अभियन्ता डा. रेणु अधिकारीले गर्नु भएको हो ।
त्रियुगा नगरपालिका–९ स्थित नवउदय टोलमा अवस्थित यो रेडियो महिलाहरुद्धारा संचालित नेपालकै तेस्रो सामुदायिक रेडियो हो, जुन पूर्ण रूपमा ग्रामीण महिला नेतृत्वमा सञ्चालित छ। रेडियो हाल दैनिक १७ घण्टा नियमित प्रशारणमा रहँदै आएको छ ।
हालसम्म रेडियोले ५० भन्दा बढी आफ्नै उत्पादनका कार्यक्रमहरू नियमित रूपमा प्रशारण गर्दै आएको छ, जसमा महिला अधिकार, लैङ्गिक समानता, शिक्षा, स्वास्थ्य, जलवायु परिवर्तन, सवाल जवाफ, हामी सँगै छौं, अन्वेषी, समुदायसँग रेडियो, हाम्रो उद्यम, सयपत्री, बालविवाह हुन्न भनौं, बराबरी, उदयपुर संवाद, बाल आवाज, कृषि, संस्कृति, बालबालिका, युवा तथा सामाजिक रुपान्तरणका विषय समेटिएका छन्।
रेडियोले जनचेतनामूलक सन्देशहरू (एक्ब्) पनि उत्पादन गर्दै आएको छ, जसमा महिला सशक्तिकरण, बालविवाह अन्त्य, दाइजो प्रथा अन्त्य, महिनावारीप्रतिको सकारात्मक सोच र घरेलु हिंसाविरुद्धका सन्देशहरू समावेश छन्। समुदायमा आधारित र समुदायकै विश्वासमा सञ्चालित सामुदायिक रेडियो उदयपुरले परम्परागत सोचमा परिवर्तन ल्याउने र महिलालाई सामाजिक, आर्थिक,सांस्कृतिक र राजनैतिक रूपमा सशक्त बनाउने अभियानलाई निरन्तरता दिँदै आएको छ।
वार्षिकोत्सवको अवसरमा रेडियोले नयाँ जनचेतनामूलक सन्देशहरू (एक्ब्) उत्पादन र प्रशारण, छिटो विवाह गर्ने वा गराइने विवाहको अन्तरकथा समेटिएको धारावाहिक रेडियो नाटक “सुनौलो पाइला” प्रसारण गरिने साथै उदयपुरको आफ्नै युट्युबच्यानल र टिकटक खाता पनि आजदेखि सञ्चालनमा आउने रेडियो उदयपुरको कार्यकारी निर्देशक बन्दना दनुवारले जानकारी दिनुभयो ।
रेडियो उदयपुरले १७ वर्षको यात्रामा महिला नेतृत्व, समावेशी दृष्टिकोण र समुदायप्रति समर्पणलाई आत्मसात गर्दै अघि बढीरहेको छ ग्रामीण महिला नेतृत्वमा सञ्चालित रेडियो उदयपुर सशक्त आवाज, र रुपान्तरणको अभियानमा आज पनि प्रतिबद्ध र क्रियाशील रही महिलाबादी रेडियोको रुपमा आफनो छुट्टै पहिचान स्थापीत गरेको छ ।