थारु समुदायमा रैव पर्व

0
241

डि.एन चौधरी, उदयपुर । पुर्वको थारु समुदायमा रैव पर्व मनाउन सुरु गरिएको छ । भाद्र महिना भरी मनाइने यो पर्वले उदयपुरको थारु समुदायमा रौनकता थपिएको छ ।

भाद्र महिनाको आइतवार मनाउने यो पर्वमा दहि, च्युरा, दुध, खिर, जेरी, मिठाई, फलफुल तथा गुलियो खानेकुराहरु खाएर मनाइन्छ ।

थारु भाषामा आईतवारलाई रैब भन्ने गरेकोले यो पर्वको नाम रैब हुन गएको मानिन्छ । यो बर्ष भाद्र महिनाको पहिलो आइतवार उदयपुरका अधिकाशं थारु समुदायमा आज धुमधामका साथ आफनै घरमा रैव पर्व मनाउदै छन् ।
धार्मिक मान्यता अनुसार पर्वको दिन नुन नखाएर वर्त बस्ने चलन छ ।

यो पर्वमा थारु समुदायको वालबच्चा देखि लिएर बृद्ध सम्म वर्त बस्ने गर्दछ । यो दिन नुन तेल खाएमा कुलदेवता रिसाउने र खेत रोपाई संगै बिश्राम लिने महिना भदौ भएकाले एक दिन दहि च्युरा खाएर पर्व मनाउने प्रचलन रहेको थारु कल्याणकरीणी सभा उदयपुरका अध्यक्ष शिवकान्त चौधरीले बताए ।

चौधरीका अनुसार थारुहरुले बिहानै स्नानगरी प्रकृती र कुलदेवतालाई पुजा प्रथाना गरी विभिन्न गुलियो परिकार तथा फलफुलहरु बिधिवतरुपमा चढाइ प्रसादको रुपमा खाने गर्दछन् । उहाँका अनुसार थारु समुदायको प्रतेक टोलमा जेवार अर्थात गाउँको मुख्य व्यक्ति हुन्छ उसले गाउँका सवैजनालाई भेला परी कुन भाद्र महिनाको कुन आइतवार रैव पर्व मनाउन उपयुक्त हुन्छ भनेर छलफल गर्छ र सवैको सहमतीमा पर्व मनाउछन् ।

धार्मिक मान्यता अनुसार बालबच्चालाई सुस्वास्थ्यको कामना गर्नुको साथै कृषिजन्य उत्पादनमा बृद्धिको लागि समयमा बर्षा होस, धानवालीमा रोग नलागोस् भन्ने कामना गर्दै यो पर्व मनाईने चलन छ ।त्यस्तै वैज्ञानिक दृष्टिकोण वाट पनि यो पर्वलाई उत्तम मानिन्छ ।

थारु समुदाय बिशेष गरेर खेतिपातीमा निर्भर भएको हुनाले बर्षको समयमा खेती रोपाईको क्रममा कृषकले नुन र तेल बढी खाने गरेको हुदा प्रेसर बढ्ने भएकोले एक दिन नुन र तेल नखाई गुलियो खानेकुरा खादा प्रेसरमा सन्तुलन आउने विश्वास गरिन्छ ।यो पर्व थारु समुदायले भाद्र महिनाको कुनै एउटा आइतवार मनाइन्छ ।