उदयपुर । उदयपुरको रौतामाई गाउँपालिकामा पहिलो पटक जग्गादाताको नामबाट सामुदायिक बिद्यालयको नामाकरण गरिएको छ ।
जग्गादाता स्वर्गिय धर्मध्वज थापाका परिवारले गाउँपालिकाले व्यवस्था गरेको शिक्षा सम्बन्धि ऐन, नियमावली तथा मापदण्ड पुरा गरेसँगै वडानं ८ स्थित आधारभूत बिद्यालय कोप्चेको नाम परिवर्तन भएको हो ।
थापा परिवारले २५ लाख मुल्य बराबरको ८ रोपनी १ आना १ पैसा जग्गा बिद्यालयका नाममा निःशुल्क पास गरिदिएकाले नाम परिवर्तन गरिएको प्रधानाध्यापक बेदबहादुर खत्रीले बताए । शिक्षा ऐनमा आधारभूत तहको बिद्यालयलाई २० लाख माथि रकम वा सम्पती सहयोग गर्दा दाताले चाहेको नामबाट नामकरण हुने व्यवस्था छ ।
सोही व्यवस्थालाई टेकेर बिद्यालय व्यवस्थापन समितिले नाम परिवर्तनको निर्णयसहित गाउँपालिकामा निवेदन दिएको थियो । बिद्यालयको निर्णय, त्यसपछिका प्राविधिक पंक्ष अनुसारका तोकिएका मापदण्ड र स्थलगत अवश्था बुझ्दा नाम परिवर्तत उपयुक्त देखिएकाले कार्यपालिकाको नामपरिवर्तन गरिएको गाउँपालिकाका अध्यक्ष गजेन्द्रबहादुर खड्काले बताए ।
उनले भने, बिद्यालयको नाम परिवर्तनका लागि आवश्यक पर्ने डकुमेन्टहरु पुरा गरेकाले कार्यपालिकाको २०७८ फागुन १० गते बसेको बैठकले जग्गादाता ‘धर्मध्वज थापा आधारभूत बिद्यालय कोप्चे नामाकरण गर्ने निर्णय गरिएको हो ।
निर्णय कार्यान्वयनका लागि गाउँपालिकाका अध्यक्ष खड्काले एक समारोहका विच परिवर्तित नामको उद्घाटन गरेका छन् । बिद्यालय स्थापनाका लागि थापा परिवारले २०४५ सालमा १ रोपनी जग्गा उपलब्ध गराएको थियो । क्रमश बिद्यालयको स्तर बृद्धी हुँदै जाँदा संरचना निर्माणमा जग्गा अपुग भएपछि नाम परिवर्तन गर्ने शर्तमा थप जग्गा उपलब्ध गराएको जग्गादाताका छोरा शंकरबहादुर थापाले बताए ।
उनले भने, ‘पास गरिदिएको एक रोपनी वाहेक बिद्यालयले अस्थायीरुपमा उपभोग गरेको जग्गा थापा परिवारकै नाममा रहेकाले विपन्न परिवारको शिक्षा क्षेत्रमा सुनिश्चित गर्न सबै दान गरिएको हो । थपे, ‘खासगरी कोप्चे क्षेत्रमा गरिव, विपन्न परिवारको बस्ने गरेकाले त्यस्ता बालबालिका आर्थिक अवश्थाका कारण अध्ययनका लागि वाहिर पठाउने अवश्था नरहेकाले उनीहरुको उज्वल भविष्यका लागि शिक्षा क्षेत्रमा लगानी गरेका हौ ।
स्वर्गिय थापा बिद्यालयका संस्थापक सदस्य हुन् । २०४१ सालमा स्थापना भएको उक्त बिद्यालयलाई जिल्ला शिक्षा कार्यालयले २०४५ फागुन २ गते सम्बन्धन दिएको थियो । प्राथामिक तहबाट सुरु भएको उक्त बिद्यालयलाई २०६४ सालमा निम्न माध्यमिक तह सञ्चालन गर्ने अनुमति लिइएको अध्यक्ष रामबहादुर लायो मगर बताउँछन् ।
१७४ जना बालबालिका रहेको उक्त बिद्यालयमा निजी, राहत र स्थायी दरबन्दि गरी १० जना शिक्षक कार्यरत रहेका छन् । बिद्यालयको नामाकरण गर्दै अध्यक्ष खड्काले दलित, जनजाती पीछडिएको समुदायको बस्ति रहेको कोप्चेमा शिक्षा क्षेत्रको विकासकालागि गाउँपालिका प्रतिवद्द रहेको बताए ।
उनले भने, ‘गुणस्तरिय शिक्षाका लागि दरबन्दि उपलब्ध गराउने, प्रविधि अन्र्तगत इमेल, इन्टरनेट जडान, तालिम तथा दुरशिक्षा कार्यक्रम लागु गर्न र बिद्यालयको भौतिक पुर्वाधारका लागि आवश्यक सहयोग गर्छौ । उनले जिर्ण छानो मर्मतसम्भार गर्ने, बिद्यालय परिसरको माटोकटिङ्गका लागि मेसिन पठाउने लगायतका कामहरु तत्काल सम्बोधन गरिने बताए ।
खड्काले आगामी स्थानीय तहको निर्वाचनमा आफु वा आफ्नो पार्टीको जनप्रतिनिधि निर्वाचित भए÷नभएपनि सहयोगमा कमि आउन नदिने बताए ।
गाउँपालिकाका उपाध्यक्ष कुमारी ठकुरीले गरिव जनताका छोराछोरी पढ्ने थलो भएकाले बिद्यालयको दिगोपना र गुणस्तरिय शिक्षाका लागि सहयोग गरिने बताए । ‘रोजगारमुखी, जीवनउपयोगी शिक्षा अहिलेको आवश्यक्ता हो, उनले भनिन्, ‘अव पढ्नका लागि शिक्षा मात्र नभई प्रविधिसँग घुलमेल र दिमाग विक्री गर्ने शिक्षाका कार्यक्रम ल्याउन पालिका प्रतिवद्ध रहेको छ ।
कार्यक्रममा थापा परिवारले बिद्यालयलाई योगदान दिने सबैलाई दोसल्ला ओढाएर सम्मान गरेका थिए । उद्घाटन शत्रमा बोल्दै जग्गादाता इन्द्रबहादुर थापाले पढ्नकै लागि चार घण्टाको पैदल यात्रा गरी मुर्कुची धाउनु पर्ने बाध्यता टरेको बताए ।
उनले बिद्यालयलाई जग्गादानसँगै त्यसको दिगोपनाका लागि बाँकी दिनमा पनि सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे । थापा परिवारले बिद्यालय परिषरमा स्वर्गिय थापाको शालिकसमेत निर्माण गरेको छ ।