पछिल्लो २४ घन्टामा उदयपुरका चार कोरोना संक्रमितको मृत्यु

0
422

उदयपुर । उदयपुरमा पछिल्लो २४ घण्टामा चार जना कोरोना संक्रमितको मृत्यु भएको छ । गए राति एक र आज बिहान तीन जनाको मृत्यु भएको हो । मृत्यु हुनेमा ४०, ६३, ५६ र ६० वर्षीय पुरुष रहेका छन् । यससँगै उदयपुरमा मृत्यु हुनेको संख्या ११ पुगेको छ ।

कोरोनाबाट मृत्यु हुनेमा त्रियुगा नगरपालिका–३ घर भई गाईघाट बजारमा व्यापार गर्दै आएका एक व्यक्तिको शनिबार राति मृत्यु भएको प्रमुख जिल्ला अधिकारी तुलसीराम सेढाईले जानकारी दिए । संक्रमण देखिएपछि उनलाई गत मंगलबार झापाको बिर्तामोडस्थित बी एन्ड सी अस्पतालमा भर्ना गरिएको थियो ।

त्यसैगरी कोरोनाबाट संक्रमित भएका त्रियुगा नगरपालिका–१० का ६३ वर्षीय पुरुषको उदयपुर कोभिड–१९ अस्पताल, बेल्टारमा मृत्यु भएको छ । शनिबार दिउँसोसम्म सामान्य अवस्थामा रहेका उनको संक्रमणबाट आत्तिएर हृदयघात भई आज विहान मृत्यु भएको चौदण्डीगढी नगरपालिकाको स्वास्थ्य शाखाका तेजबहादुुर पोखरेलले बताए ।

त्यसैगरी ज्वरो र रुघाखोकी लागेपछि उपचारका लागि विराटनगरस्थित नोबेल अस्पताल भर्ना भएका चौदण्डीगढी नगरपालिका–५ का ५६ वर्षीय पुरुषको पनि आज विहान मृत्यु भएको छ । कोरोना पोजिटिभ देखिएपछि उनलाई वार्डमा भर्ना गरिएको थियो ।

त्यस्तै विराटनगरस्थित ग्रिनक्रस अस्पतालमा त्रियुगा नगरपालिका १२ का ५१ वर्षीय पुरुषको आज विहान मृत्यु भएको छ । दमका बिरामी उनलाई स्वास्थ्यमा थप समस्या आएपछि तीन दिनअघि विराटनगरको गोल्डेन अस्पताल पुर्‍याइएकोमा कोरोना पुष्टि भएको थियो । त्यहाँबाट उनलाई ग्रिनक्रस अस्पतालमा भर्ना गरिएको थियो ।

nagarikhabar.com