तीजको रमझम : सामाजिक एकताको आधार

0
225

झपेन्द्र जीसी

चाड पर्वहरू कुनै स्थान, जाति वा लिङ्ग विशेषले शुभारम्भ गरेको भए तापनि ती पर्व संस्कृतिहरू कुनै जातिको, कुनै भाषीको, कुनै धर्मको वा कुनै खास स्थानको घेराभित्र सीमित भएर रहन सक्दैन । पर्व संस्कृतिले संकीर्णताको घेरा तोडेको हुन्छ र सबै जाति, भाषा र मतावलम्बीसँग नाता जोडेको हुन्छ । तिजपर्वलाई आध्यात्मिक आँखाले हेर्दा हिन्दु नारीहरूको पर्व भनिए पनि यो पर्व संस्कृतिले नेपालका आम महिलाहरूलाई मात्र नभई पुरुषहरू समेतलाई प्रभावित तुल्याएको पाइन्छ ।

आध्यात्मिक भावले हिन्दु महिलाहरूमा हरितालिका व्रत बस्ने प्रचलन रहे पनि सांस्कृतिक रूपमा विभिन्न हिन्दुइतर महिलाहरू र पुरुषहरू समेतलाई र हिमाल पहाड तराईमा रहने आधिकांश भाषा धर्मका जाति जनजातिहरूका बिच पनि साझा पर्वको रूप धारण गरेको देखिन्छ । यो पर्व आमनारी जागरणको साझा पर्व बनेको छ । सामाजिक सदभाव वृद्धि र राष्ट्रको समृद्धिको लागि यो जीवन्त र प्रेरणादायी पर्व बनेको छ । विवाहिता चेलीहरू र माइतीका बिचमा दुःखसुख आदान प्रदान गर्ने, पुनर्मिलन र सद्भावको सन्देश दिने काम तिजपर्वले गरि रहेको छ ।

पर्व संस्कृति सामाजिक अग्रगमनका आधार हुन्, इतिहासका सूचना र सन्देश हुन् । संस्कृति सबैभन्दा जेठो र प्रिय हुन्छ, तिजपर्वले पनि हामीलाई यही चिनाएको छ । सामाजिक एकता र राष्ट्रिय एकताको सन्देश नारी जागरण र अन्यायका विरुद्धमा विद्रोहको शङ्खघोष गरेको छ । यसले अन्धविश्वास, असामाजिक र असामायिक प्रचलनका विरुद्धमा विद्रोहको आवाज बुलन्द गर्दै आएको छ । त्यसैले तिजपर्व निष्क्रिय र औपचारिक पर्व मात्र होइन नारी जागरणको एउटा जिउँदो जाग्दो जनसंस्कृति पनि हो । जनसंस्कृतिको अर्थ जनतासितको सुमधुर सम्बन्ध र एकताको अभिव्यक्ति हो ।

नेपाल देशलाई विश्वमा चिनाउने सगरमाथा र बुद्धको जन्मस्थल लुम्बिनी भए झैँ नेपालको अर्काे चिनारी पर्वैपर्वको संस्कृति पनि रहेको छ । यी पर्वपर्वैहरूका माझ अलि छुट्टै विशेषता राख्ने पर्व तिज हो । मूलतः महिला केन्द्रित यस पर्वमा अधिकांश हिन्दुदेखि गैर हिन्दुसम्मका नेपाली महिलाहरूले मिठोचोखो खाने, व्रत उपवास बस्ने र नाचगान गरेर अत्यन्तै हर्षोल्लासका साथ यो पर्व मनाउँछन् । सामान्यतया नाचगान जस्ता कुराले सबैको ध्यानाकर्षण गर्ने भएकाले पनि तिज पर्व संस्कृतिले हिन्दु इतर नेपाली महिला र पुरुषहरू समेतलाई नाच्न, नचाउन र गाउन अनि रमाउनका लागि अवसर प्रदान गरेको देखिन्छ । यस कारणले तिज पर्व नेपालको सबैभन्दा ठुलो र अत्यधिक जनसंख्यालाई प्रभावित गर्न सफल पर्व संस्कृति हो ।


यी सबै क्रियाकलापले तिजी संस्कृतिमा हुँदाहुँदै पनि केही अन्धविश्वास र अवैज्ञानिक धारणाले स्वयं महिला समुदाय हिंसा र दमनमा परिरहेको छ । त्यो भनेको व्रतउपवास विधि प्रक्रियामा रहेका अवैज्ञानिक असामयिक र रुढीग्रस्त विचार दृष्टिकोण नै हुन् । गरुड पुराणको ४६ र ४७ मा उल्लेख गरिएको छ— पत्नीले जिउञ्जेल पतिको सेवा गरोस् र मृत्युपछि पति पतिसँगै सती जाओस् । यस्तो विचार परम्पराले पतिको आयुसँग महिलाको आयु गाँसिने धार्मिक मनोवैज्ञानिक ग्रन्थी निर्माण गरिदिएको छ । त्यसै भएर होला पतिको दीर्घायुको कामना गर्दै महिलाहरू तिज अर्थात् भाद्र शुक्ल द्वितीया दिन व्रत बस्ने गर्छन् । जितिया संगिनी र गौरामा पनि यही विधि अनुसार व्रत बस्दछन् ।

तिजपर्वका सन्दर्भमा केही सकारात्मक पक्षहरू पनि रहेका छन् । तिजको मौलिक पक्ष (भाषालय, स्वर संगीत) लाई संरक्षण र सम्वद्र्धन गर्नुपर्छ भन्ने भावनाको विकास भएको छ । तिजको मौलिक पक्ष संरक्षण गर्न र बदलिँदो परिवेश बमोजिमका विषयवस्तुमा केन्द्रित भएर उद्देश्यमूलक गीत रचना पनि हुँदै गएका छन् । कलाकारहरूको ध्यान तिज संस्कृतिप्रति आकर्षित भइरहेको छ । धेरै विद्वान् शोधकर्ताहरूबाट तिज पर्व संस्कृतिको महत्वमाथि अनुसन्धानको थालनी पनि भइरहेको छ ।

तिज पर्व संस्कृति जति लोकप्रिय र जीवन्त हुँदै गए पनि समस्या र चुनौतीहरू पनि उत्पन्न भएका छन् । नयाँ पुस्ताका महिला समुदायले तीज पर्व संस्कृति अन्तर्गतका लय–भाका, तिजी परम्पराको भाषाशैलीलाई राम्ररी पक्रन नसक्दा गीतहरूको शब्द रचनामा क्लिष्टता, एकै लय भाका र स्वरका गीतहरू मात्र प्रस्तुत भइरहेका छन् । तिजी गीत, संगीत र नृत्यमा छाडापन यौनपरक प्रस्तुतिको प्राधान्य देखापर्दै गइरहेको छ । नयाँ प्रविधिको विकास र उपलब्धता हुँदाहुँदै पनि ती परम्परागत तिज गीत, संगीत, नृत्य कलालाई अभिलेखीकरण र रेकर्ड गर्ने काम खासै भएको छैन । तिज संस्कृतिका पारखी कलाकार हजुरआमा र आमाहरू स्वाभाविक रूपमा बित्दै जाँदा उनीहरूमा रहेको कला सौन्दर्य पक्ष पनि उनीहरूको मृत्युसँगै अतीत हुन पुगेको छ र नयाँ पिढीले ती शब्द रचना पक्ष र भाका र लयको अनुकरण गर्नतिर ध्यान दिइरहेका छैनन् । तिज गीत रचना र गायनमा पुरुष कलाकारहरूबाट हस्तक्षेप हुँदै गएको देखिन्छ अनि तिज गीत र कलामा रत्यौली परम्पराको मिश्रण गरिदिँदा तिज गीत गायनमा मौलिकता हराउने अवस्था देखापरिरहेको छ । आजभोलिका कलाकारहरूले तिज गीतसंगीतलाई व्यवसायिकीकरण गरेर सस्तो लोकप्रियता हासिल गर्ने दौडमा लागिरहेका छन् ।

तिज नेपाली नारीको पर्व हो राष्ट्रिय पर्व हो । पर्वका वेला मिठो चोखो दर खानु, रमाउनु, माइती र छोरी चेलीको बिचमा आत्मीय सद्भाव बृद्धि गर्नु राम्रो कुरो हो । दरको नाममा गरिबका लागि डर सिर्जना हुने गरी तारे होटलतिर दरखानु सामाजिक अपराध पनि हो । तिज पर्व तिज पर्व बन्नुपर्छ अर्थात् चाहेको खोजेको पर्व बन्नुपर्छ । नेपाली सन्दर्भमा चाडपर्व सकिनसकी ऋण काडेर भए पनि मनाउने प्रवृत्ति पाइन्छ । तलेघरेले हात्ती चढ्यो भन्दैमा हात्ती चढ्न खोज्नु, धौलेघरेले ठुली खसी काट्यो भन्दैमा झन् ठुलो खसी काट्नतिर लाग्नुभन्दा पर्व संस्कृतिलाई भड्किलो महँगो बनाउनतिर लाग्नु राम्रो होइन मितव्ययी र जीवनोपयोगी बनाउनु आजको आवश्यकता हो । परम्परागत रूपमा चलेको पर्वलाई नयाँपन दिनु ठिक छ तर यसको सामाजिक–सांस्कृतिक मूल्य, मान्यता र सकारात्मक मौलिकताको जगेर्ना गर्नतिर ध्यान दिनु पनि आवश्यक देखिन्छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here